सुर्खेत- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका चिकित्सकसहितको टोलीले सुर्खेतमा सेवा दिएका छन्। क्यान्सर अस्पतालबाट सुर्खेत पुगेका टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा बिरामीलाई सेवा दिएका हुन्।
शुक्रबार टोलीले १२२ जना बिरामीलाई सेवा दिएका छन्। बीपी क्यान्सर अस्पतालका उपनिर्देशक डा उमेश नेपालको नेतृत्वमा गएको टोलीले सेवा दिएका हुन्। उनीहरुले नाक–कान–घाँटी–मुख, महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर लगायत सबै प्रकारका क्यान्सरको स्क्रिनिङ गर्नुका साथै बिरामीको उपचार गरेको छन्।
शुक्रबार सेवा लिनेमध्ये ७० प्रतिशत बिरामी भरतपुरमा उपचारपछि फलोअपमा आएकाहरु रहेको डा नेपालले जानकारी दिए।
उपचार सेवा दिने टोलीमा डा नेपालसहित डा दिलिप कर्माचार्य, डा सुशील अधिकारी, डा मन्जु पाण्डेय, डा साजन थापा, नर्सहरु सपना गिरी र रिना कुमाल रहेका थिए।
स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार बीपी क्यान्सर अस्पतालले कर्णाली प्रादेशीक अस्पताल सुर्खेतसँग क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार नै अस्पतालले दोस्रो पटक शुक्रबार सेवा दिएको प्राविधिक उपसमितिका सदस्य सचिव रमेश शर्मा पौडेलले जानकारी दिए।
यसअघि पनि अस्पतालबाट गएको टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा सेवा दिएका थिए।