काठमाडौं- नेपालको नेतृत्वदायी औषधि वितरण कम्पनीमध्येको एक यतिक्याम डिस्ट्रिब्युटर्स ग्रुपका प्रमुख प्रभु बैद्यले औषधिप्रति आमजन नै चनाखो हुनुपर्ने बताएका छन्। काठमाडौंमा एक कार्यक्रम गर्दै उनले बिरामीले औषधिका विषयमा आँखा चिम्लेर विश्वास गर्ने गरेको बताउँदै त्यसो नगर्न आग्रह गरेका हुन्।
उनले भने, 'चिकित्सकलाई भेट्न जाँदा हामी घन्टौं पर्खनु परे पनि हतार गर्दैनौं। तर त्यही चिकित्सकले लेखिदिएको प्रेस्किप्सन लिएर फार्मेसी वा औषधी पसल पुग्दा हामीलाई निकै हतार हुन्छ । त्यो हतारले कहिलेकाँही हामीलाई ठूलो क्षति पुर्या उन सक्छ।'
नेपालमा नयाँ र गुणस्तरीय औषधि ल्याउन आफूले बिगत ३८ वर्षमा गरेका संघर्ष बताउँदै उनले त्यसको वितरणमा समेत विशेष ध्यान पुर्याइएको उल्लेख गरे।
उपभोक्ताले सचेत हुनुपर्ने
नेपालका औषधि पसलमा औषधिको उचित तरिकाले स्टोर गर्ने कुरामा प्रश्न रहेको उनी बताउँछन्। इन्सुलिन र खोपको उचित रुपमा कोल्डचेन मेन्टेन नहुने गरेको उनले बताए। 'कोल्डचेन मेन्टेन भएन भने त्यो औषधीको प्रभावकारिता पनि कम हुँदै जान्छ र प्रभावहिन बन्छ,' उनले भने। उपभोक्ताले यस विषयमा औषधी पसलेसँग सोध्नुपर्ने उलेख गरे। उनले भने, 'तपाईंको स्वास्थ्यमा प्रभाव पार्ने औषधिका विषयमा जान्ने अधिकार तपाईं हरेक उपभोक्तालाई छ।'
उनले फार्मेसी वा औषधी पसलमा औषधि लिन जाँदा औषधिको म्याद (एक्सपाएरी डेट) अनिवार्य हेर्न सुझाएका छन्। 'कहिलेकाहिँ औषधि पसले झुक्किएरै पनि वा राम्ररी ध्यान नदिदा म्याद गुज्रिएको औषधि पनि वितरण गर्ने गरेको हामीले सुनेका छौँ,' उनले भने, 'म्याद गुज्रिएको औषधिले काम गर्दैन । यसैले औषधी खरीद गर्दा म्याद कति छ भनेर हेर्ने गर्नुहोस् । त्यो औषधीको खोलमा लेखिएकै हुन्छ।'
जेनेरिकमा जानुअघि ध्यान दिनुपर्ने कुरा
उनले औषधिको गुणस्तरका लागि भरपर्दो प्रणाली निर्माण नगरी 'जेनेरिक सिफारिस'मा नजान सुझाव दिएका छन्। उनले भने, 'जेनेरिकमा जाने कुरामा हाम्रो असहमति छैन। तर, अहिलेकै अवस्थामा जेनेरिकमा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्छ भनेर हामीले सचेत गरिरहेका छौं।'
गुणस्तर कायम राख्ने भरपर्दो प्रणालीका साथै आशंका उत्पन्न हुँदा तुरुन्तै जाँच्न सकिने विधिको समेत निर्माण गरेर त्यतातिज जाँदा सहज हुने उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै औषधिलाई जेनेरिक सिफारिसमा लैजानका लागि सुझाव समिति गठन गरेको छ। औषधि व्यवस्था विभागका महाप्रबन्धक नारायण ढकालको संयोजकत्वमा गठित समितिले यस विषयमा अध्ययन गरेर सुझाव दिनेछ। जेनेरिक सिफारिसपछि औषधिको मूल्य घट्ने विश्वास मन्त्रालयको छ। विश्वका विभिन्न देशहरुमा यस्तो अभ्यास छ।
भारतसँग खुला सिमाना रहेको नेपालमा औषधि गैरकानुनी रुपमा समेत भित्रिने गरेको छ। त्यसको गुणस्तरदेखि कोल्डचेन मेन्टेनसम्ममा समस्या रहेको उनले दर्शाएका हुन्।