काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए)ले दुई जना क्रिकेटर चिकित्सकलाई सम्मान गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलेका दुई खेलाडी डाक्टरलाई एनएमएले आइतबार सम्मान गरेको हो।
हालै सम्पन्न क्रिकेटको एनपिएलमा जनकपुर बोल्ट टोलीमा थिए डा नविन यादव र सुदूरपश्चिम रोयल्स टिममा थिए डा इशान पाण्डे। एनपिएलको विजेता जनकपुर बोल्ट भएको थियो भने सुदूरपश्चिम उपविजेता भएको थियो।
दुई टिममा रहेका चिकित्सकद्वयलाई एनएमले केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरेको हो।
सम्मान कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्की तथा महासचिव सञ्जिब तिवारीले मेडिकल पढाई र पेशासँगै क्रिकेट खेलमा पनि उत्तिकै अब्बल प्रदर्शनी गरेकोमा बधाई दिँदै डाक्टरहरु आफ्नो पेशासँगै खेल र स्वास्थ्य क्षेत्र जोडेर समेत जान सक्छन् भन्ने प्रमाणित गरेकोमा खुशी व्यक्त गरे।
बधाई तथा शुभकामना दिन एनएमएका पूर्व अध्यक्षहरु डा भोजराज जोशी, डा अन्जनी कुमार झा, डा मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा बद्रि रिजाललगायतको उपस्थिति थियो।
दुवै खेलाडी चिकित्सकले काठमाडौं यूनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका हुन्।