काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था सुरु गरेको छ।
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था बुधबारदेखि सुरु गरेको हो। विभिन्न रोगको नमूना परीक्षण गर्न गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए।
अस्पतालले क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने एक वटा मेसिन पनि राखेको छ। स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो मोबाइलबाट स्क्यान गरेर पनि रिपोर्ट हेर्न सक्ने उनले बताए।
मेसु पौडेलले भने, ‘ल्याबको बिलिङ गर्दा क्युआर कोडसँगै आउँछ। पहिले बार कोड थियो। यो कोर्ड स्क्यान गरेपछि मोबाइलमा पनि हेर्न सकिन्छ। र, अस्पतालमा भएको मेसिनबाट रिपोर्ट लिन सकिन्छ।’
यो व्यवस्था लागु भएपछि अस्पतालमा बिरामीको भीडभाड कम हुने उनको अपेक्षा छ। अस्पताललाई विस्तारै पेपरलेस बनाउनका लागि पनि यो सेवा सुरु गरिएको उनले बताए।
भरतपुर अस्पतालमा हाल दैनिक करिब दुई हजार बिरामीले ओपिडी सेवा लिने गर्छन्। बिहीबार सार्वजनिक बिदाका दिन दिउँसो १ बजेसम्म ८६६ जनाले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ।