काठमाडौं- काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि विद्यावारिधि (पिएचडी) वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्ने व्यवस्था संशोधन गरिएको छ। उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार कार्यविधि संशोधन गर्दै शैक्षिक योग्यतामा यसअघि रहेको पिएचडी वा सो सरहको व्यवस्था हटाएको हो।
समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।
न्यूनतम शैक्षिक योग्यता संशोधनसँगै समितिले उपकुलपतिका लागि आवेदन दिन समय पनि थप गरेको छ। समितिले आज शुक्रबारदेखि ७ दिनभित्र आवेदन दिन समय थप गरेको छ।
केयूको उपकुलपतिका लागि पिएचडीको योग्यता राख्दा केयूकै एमडी/एमएस/एमडिएस गरेका चिकित्सकहरुले आवेदन दिन नपाएको भन्दै गुनासो गरेका थिए। केही चिकित्सकले अदालतमा मुद्दा समेत हालेका थिए। शैक्षिक योग्यताका विषयमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएका थिए भने चिकित्सकहरुका तर्फबाट चर्को दबाब आएको थियो। केयूका कुलपति समेत रहेका प्रधानमन्त्रीको निर्देशन र चिकित्सकहरुको मागपछि समितिले चिकित्सकहरुले पनि आवेदन दिन सक्ने गरी कार्यविधि संशोधन गरेको हो।
समितिले कार्यविधि संशोधन गरेर आवेदनको म्याद थप गरेसँगै यसअघि आवेदन दिएकाहरुको सूची पनि यथावत नै रहने जनाएको छ। यसअघि पिएचडीको योग्यता हुँदा १६ जनाले आवेदन दिएका थिए। समितिले यसअघि एक महिना अघि पुस १८ गते सूचना निकाल्दै आवेदन माग गरेको थियो।
हेरौं संशोधित कार्यविधि
म्याद थपको सूचना हेरौं