वाशिङ्टन–अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ।
मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। तर महत्त्वपूर्ण कार्यहरूमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्।
युएसआइडीले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्य अनुसार अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार पारिँदैछ। जसअन्तर्गत ३० दिनभित्र उनीहरूको अमेरिका फिर्तीको यात्रा खर्च एजेन्सीले ब्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिनेछ।
यसैबीच, मंगलबारदेखि युएसआइडीका कर्मचारीहरूलाई व्यक्तिगत रूपमा इमेल पठाएर बिदामा राखिएको जानकारी दिइएको छ। कर्मचारीहरूलाई युएसआइडी भवन, प्रणाली वा कुनै पनि आधिकारिक हैसियतमा प्रवेश गर्न रोक लगाइएको छ। धेरै कर्मचारीहरूले इमेलहरू पहुँच गर्न नसकेको र कार्यालय बन्द गरिएकाले अन्योल बढेको बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसआइडीलाई भ्रष्ट संस्था भन्दै यसलाई बन्द गर्ने संकेत गरेका छन्। उनले एलन मस्कलाई सरकारी दक्षता विभागको नेतृत्वमा राख्दै युएसआइडीको अनियमितता छानबिन गराइरहेका छन्।
युएसआइडीले सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीको कार्यकालमा स्थापना भएको थियो। गरिबी निवारण, रोग उपचार, भोकमारी, र प्राकृतिक विपत्तिहरूको राहतका लागि काम गर्दै आएको छ। तर, हालको प्रशासनको नीतिले युएसआइडीको भविष्य अन्योलमा पारेको छ।