काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भन्दै चिकित्सा शिक्षा आयोगले गरेको निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ।
नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले एक विज्ञप्ति जारी गर्दै उक्त निणर्यको स्वागत गरेका हुन्। यसले आवासीय चिकित्सकको कार्यसम्पादनलाई थप प्रोत्साहन दिने र स्वास्थ्य सेवाको गुणस्तर बढाउन सहयोग गर्ने संघले जनाएको छ।
'सम्मानीय प्रधानमन्त्री, माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा चिकित्सा शिक्षा आयोगलाई यस महत्वपूर्ण निर्णयका लागि नेपाल चिकित्सक संघ धन्यवाद व्यक्त गर्दछौं', संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'यस अवसरमामा स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक र स्वास्थ्य सेवामा संलग्न अन्य पेशाकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली निर्माण गर्न नेपाल सरकार प्रतिबदध् रहने आशा गरेका छौं' विज्ञप्तिमा थप उल्लेख छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौं तहका मेडिकल अधिकृत सरह गर्ने निर्णय गरेको छ।