काठमाडौं- अमेरिकी विकास एजेन्सी (युएसएआइडी)का कर्मचारीलाई शुक्रबारदेखि बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा एक अमेरिकी अदालतले रोक लगाएको छ। २,२०० कर्मचारीहरूलाई बिदा राख्ने निर्णय कार्यान्वयन हुनु एक घन्टाअघि निर्णयमा अस्थायी रोक लगाइएको हो।
न्यायाधीश कार्ल निकोल्सको यो निर्णयले युएसएआइडीका कर्मचारीलाई तत्काल राहत मिलेको छ। युएसएआइडी बचाउन भन्दै दुई युनियनले अन्तिम समयमा मुद्दा दायर गरेका थिए।
ट्रम्प प्रशासनको उक्त निर्णय एक हप्ताका लागि कार्यान्वयन नगर्न आदेश गरिएको हो। ट्रम्पले विदेशी सहायता एजेन्सी युएसएआईडी करदाताको पैसाको लागि आफूले गरेको पहल अर्थपूर्ण रहेको बताएका छन्।
उनी एजेन्सीका १०,००० कर्मचारीहरू मध्ये ६११ कर्मचारीहरूलाई छोडेर लगभग सबैलाई बिदा दिने योजनामा छन्। करिब ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अर्को २,२०० कर्मचारीहरूलाई शुक्रवार मध्यरातबाट बिदामा राख्ने तयारी थियो।
तर शुक्रवारको अन्तिम समयमा दायर मुद्दामा सरकारले संयुक्त राज्य अमेरिकाको संविधान उल्लंघन गरेको र कर्मचारीहरूलाई हानि पुगेको तर्क गरिएको थियो। न्यायाधीश निकोल्सले मुद्दा दायर गर्नेको पक्ष लिए। उनले भने, 'अदालतले हस्तक्षेप नगरेमा उनीहरूलाई 'अपूरणीय क्षति' हुनेछ। जबकि सरकारलाई 'कुनै पनि हानि हुने छैन।'
निकोल्सका अनुसार यस मितिसम्म युएसएआइडीका सबै कर्मचारीहरूलाई प्रशासनिक बिदाबाट पुनःस्थापित गरिनेछ। उनीहरूलाई यस मितिसम्म इमेल, भुक्तानी र सुरक्षा सूचना प्रणालीहरूमा पूर्ण पहुँच दिइनेछ। उक्त मितिअघि कुनै पनि अतिरिक्त कर्मचारीलाई प्रशासनिक बिदामा नराखिने बताइएको छ।