काठमाडौं- नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल बेसिक साइन्स क्याम्पस चिसापानीमा मृत शरीर (क्याडाबरमा ) मेरुदण्डको शल्यक्रिया सम्बन्धि एकदिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ। गत शनिबार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल हाडजोर्नी विभागको संयुक्त आयोजनामा गोष्ठी आयोजना गरिएको हो।
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल लुम्बिनी प्रदेश संयोजक नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रतिक कार्कीको संयोजकत्वमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीमा नेपाल भरिबाट करिब ७० जना हाडजोर्नी विशेषज्ञ डाक्टरहरुको सहभागिता रहेको थियो। एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष प्राडा दिपक श्रेष्ठले उद्दघाटन गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष प्राध्यापक डा दिपक श्रेष्ठले यस कार्यशाला गोष्ठीले मेरुदण्ड सम्बन्धि जटिल शल्यक्रियाहरुको बारेमा ज्ञान र सीपलाई नयाँ पद्धतिमा रुपान्तरण गर्दै स्पाइन सम्बन्धि बिरामीहरुको उपचारमा थप मद्दत गर्ने बताए।
![WhatsApp-Image-2025-02-09-at-11.12.02_bffbf488-1739095477.jpg](https://swasthyakhabar.com/uploads/posts/WhatsApp-Image-2025-02-09-at-11.12.02_bffbf488-1739095477.jpg)
कार्यशाला गोष्ठीमा लासहरुमाथि विभिन्न शल्यक्रियाका विधिहरुको परिक्षण गरी विश्वमा स्पाइनल सर्जरी सम्बन्धि भएका विभिन्न प्रयोगहरुको बारेमा छलफल गरिएको थियो। यस्तो प्रकारका कार्यक्रमहरुले हाडजोर्नी तथा मेरुदण्डका डाक्टरहरुलाई अबका दिन उपचारमा धेरै नै सहयोग पुग्ने र यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने कुरा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल लुम्बिनी प्रदेश संयोजक डा प्रतिक कार्कीले जानकारी दिए।