बारा– बाराको कलैयास्थित नव जन्म पुन:स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
केन्द्रमा रहेका कलैया-९ का ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको बिहीबार मध्यरातमा कुटपिटबाट मृत्यु भएको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। मण्डल १५ दिनअघि केन्द्रमा भर्ना भएका थिए।
कुटपिट गरिरहेको सीसीटीभीको फुटेज भाइरल भएको छ। मण्डललाई सामूहिक कुटपिट गरिएको दृश्य देखिन्छ।
शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ। अनुशासन भंग गरेको निहुँमा केन्द्रका सञ्चालकसहित परामर्शदाताले कुटपिट गरेको उनले बताए।
पुन:स्थापना केन्द्रका सञ्चालक कलैया-३ का साहेबाबु मंसुर हुन्। केन्द्रको रेखदेख भने उनका भाइ २९ वर्षीय तमन्ना अलीले गर्दै आएका छन्। उनी नेविसंघ क्षेत्र नम्बर ३ का सभापति हुन्। उनीसहित सात जना पक्राउ परेको प्रहरी उपरीक्षक तामाङले बताए।
पक्राउ पर्नेहरु कलैया-३ कै १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निज सर्रारा, वडा ६ का २० वर्षीय महम्मद आँसु मियाँ, वडा १ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता वडा २ का २१ वर्षीय परमेश्वर साह छन्।