पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन्।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन्।
अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२५ लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो।
मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरुको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ। अर्थमन्त्री पौडेल आजै काठमाडौं आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।