काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा समाज गौतमले पाएका छन्। निर्देशक डा सन्तोष पौडेलको कार्यकाल आइतबारदेखि पूरा भएको छ। उनकाे दुईवर्षे कार्यकाल पूरा भएसँगै डा गाैतमले जिम्मेवारी प्राप्त गरेका हुन्।
डा पौडेल २०७९ फागुन ५ गते मा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले डा पौडेललाई वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री नेपाली कांग्रेसबाट प्रदिप पौडेल रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा गौतमलाई कार्यकारी निर्देशककै जिम्मेवारी दिने विषयमा समेत सकारात्मक रहेको बताइन्छ। हाडजोर्नी विशेषज्ञ डा गौतम अस्पतालका सहायक निर्देशक थिए।
अस्पतालको निर्देशक सत्तारुढ दल नेकपा एमालेकै कोटाबाट बनाउनुपर्नेमा उक्त दलनिकट चिकित्सकको जोड छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उपकुलपतिलगायत रहेको, रजिस्ट्रार माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएको र निर्देशक एमालेबाट दोहोर्याउँदा 'ब्यालेन्स' हुने ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरिएको छ।