केमसानका अध्यक्ष भक्तबहादुर हमाल र सदस्य विनयराज सिग्देल काठमाठौं- आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो बिहीबारबाट सुरु हुँदै छ। शनिबारसम्म चल्ने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा आयोजना गरेको हो।
एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गर्दैछन्। नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५को मुख्य उद्देश्य स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि तथा सेवाहरूलाई एकैथलोमा प्रदर्शन गर्नु रहेको केमसानका अध्यक्ष भक्तबहादुर हमाल बताउँछन्।
मेडिकल उपकरण तथा औषधिको आपूर्तिमा सरकारको नीति अस्पष्ट तथा जटिल साथै उच्च कर तथा भन्सार शुल्क लगाइने हुँदा मूल्य वृद्धिको समस्या हुने गरेको उनको गुनासो छ।
हाल मेडिकल सामाग्री आपूर्तिमा देखिएका प्रमुख चुनौतीहरू, मेडिकल सामाग्री तथा ल्याब उपकरण आपूर्तिको वर्तमान अवस्था तथा मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ को मुख्य उद्देश्यका बारेमा स्वास्थ्यखबरले केमसानका अध्यक्ष हमाल र सदस्य विनयराज सिग्देलसँग कुराकानी गरेको छ। के भन्छन् केमसानका प्रतिनिधि उनीहरुकै शब्दमा:
औषधि ऐन परिमार्जन हुनुपर्छ : केमसान अध्यक्ष, भक्त हमाल
नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ को मुख्य उद्देश्य स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि तथा सेवाहरूलाई एकैथलोमा प्रदर्शन गर्नु हो। यो एक्स्पोले मेडिकल आपूर्ति, ल्याब टेक्नोलोजी, फार्मास्युटिकल उत्पादन र स्वास्थ्य सेवा क्षेत्रमा आवद्ध कम्पनीहरू, आपूर्तिकर्ता, चिकित्सक तथा अनुसन्धानकर्ताहरूलाई एकअर्कासँग जोड्ने प्लेटफर्म प्रदान गर्छ। साथै, यसले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नवीनतम प्रविधि भित्र्याउने अवसर पनि दिन्छ।
औषधि ऐन परिमार्जन हुनुपर्छ भन्दै हामी लगायत विभिन्न औषधि उत्पादनकहरुले विगतदेखि नै भन्दै आइरहेका छौं। औषधि ऐनमा मेडिकल सामग्रीहरुलाई समेत समावेश हुनुपर्ने विषय यस अघि संसदमा विधेयकका रुपमा दर्ता भइसकेको थियो। उक्त विधेयक हाल स्थगित भएर स्वास्थ्य मन्त्रालयले औषधि ऐन दर्ता गरेर कानुन मन्त्रालयमा पठाएको छ। यसका लागि हामीले हाम्रा प्रतिक्रिया पनि दिएका छौं। उक्त प्रतिक्रियामा औषधि ऐनमा भएको कमीकमजोरीहरुलाई समेत सुधार गरी हामीले प्रतिक्रिया दिइएका छौं। जसमा हामीले १६ बुँदाको सुझाव दिएका छौं।
जथाभावी भन्सार मूल्य निर्धारण हुँदा समस्या परेको छ : केमसान सदस्य, विनयराज सिग्देल
दिनप्रतिदिन स्वास्थ्य क्षेत्रमा नयाँ संस्थाहरू खोल्ने क्रम बढ्दो छ। स्वास्थ्य उपचारमा चाहिने सामग्रीहरू तथा ती सामग्रीहरूको गुणस्तर कस्तो छ, भन्ने जानकारी दिने प्लेटफर्मका रुपमा नेपाल मेडिकल शोलाई लिन सकिन्छ।
सार्वजनिक स्थानमा मेडिकल शो राख्दा धेरै चिकित्सक तथा सर्वसाधारणले हेर्न सक्छन् भन्ने लक्ष्यका साथ मेडिकल शो भृकुटी राखिएको हो। स्वास्थ्य क्षेत्रमा आएका नयाँ प्रविधि बारेको जानकारी दिनका लागि मेडिकल शोआयोजना गरिएको हो।
यो आठौं संस्करणको मेडिकल शोमा ३०० भन्दा बढी स्टल रहेका छन्। भारतीय तथा नेपाली कम्पनी गरी जसले मेडिकल सामग्री आयात तथा उत्पादन गर्दै आइरहेका छन्, शोमा उनीहरूको स्टल छ। गत वर्षको मेडिकल शोमा ९ हजारभन्दा बढीले अवलोकन गरेकोमा योपटक बढ्ने आँकलन गरेका छौं।
स्वास्थ्य सामग्रीहरूमा कर कम लगाउन सके त्यसको मूल्य पनि कम नै हुन्थ्यो। कम मूल्यमा स्वास्थ्य सामग्री खरिद हुँदा जनताले न्यून शुल्कमा स्वास्थ्य सेवा पाउन सक्थे। हालको अवस्थामा करको वर्गीकरण गरिएको छ ,जुन सामान्य लागे पनि दोहोरो अर्थ दिने खालको छ।
जस्तै प्लास्टिकले बनेका सामग्रीहरूमा ३० प्रतिशत कर लगाइने व्यवस्था छ, कतिपय प्लास्टिकजन्य स्वास्थ्य सामग्रीको कर महँगो हुँदा त्यसले स्वास्थ्य सेवा पनि महँगो पर्न जान्छ। त्यस्तै कतिपय स्वास्थ्य सामग्रीहरू महँगो कर लगाइदिँदा हामी जस्ता व्यवसायीहरुलाई पनि माग परेको छ।
महँगो करका कारण हामीलाई समयमा स्वास्थ्य सामग्री दिन समस्या भएको छ, भने अर्कोतर्फ स्वास्थ्य सेवा पनि महँगो पर्छ। यसका लागि सर्वप्रथम स्वास्थ्य उपचार मा प्रयोग हुने सामग्री हरूलाई राम्रोसँग परिभाषित गर्न जरुरी छ। त्यसै सरकारी तर्फबाट एकपटक नमुना ल्याएर प्रमाणीकरण पनि गर्नुपर्छ।
जथाभावी भन्सार मूल्य निर्धारण हुँदा त्यसले समस्या पनि परेको छ। एचएस कोड अर्थात् भन्सार दरबन्दी छुट्टाउने नम्बर फरक फरक पर्दा सामान आयात भएपछि नै एउटै सामग्रीको मूल्य पनि फरक फरक पर्न जान्छ। जसले स्वास्थ्य सामग्री किन्ने अस्पताल पनि मारमा पर्छन् भने त्यसको मार बिरामीलाई समेत परेर स्वास्थ्य सेवा महँगो हुन जान्छ।
गुणस्तरीय तथा सस्तो स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ। अर्थ मन्त्रालयले बढीभन्दा बढी राजस्व संकलन गर्ने क्रममा स्वास्थ्यजन्य सामग्रीहरूको मूल्य तथा तिनीहरूको आयतमा राजस्व बढाइरहेको पनि छ। एकातर्फ स्वास्थ्य मन्त्रालयले न्यून खर्चमा स्वास्थ्य सेवा प्रवाह गर्ने भनिरहेको छ भने अर्कोतर्फ अर्थमन्त्रालयबाट स्वास्थ्य सेवाको मूल्य बढाउने काम भइरहेको छ।
खुल्ला सिमानामा स्वास्थ्य सामग्री भित्र्याउने क्रममा हामीले भोग्नुपरेको समस्या समाधानका लागि औषधि व्यवस्था विभागले नीतिगत व्यवस्था अगाडि बढाउने भनी प्रक्रियासमेत अगाडि बढिसकेको छ। अझै पनि स्पष्ट नीति भने बनिसकेको अवस्था छैन। खुला सिमानाका कारण भन्सार नतिरी ल्याउने तथा भन्सार तिरेर ल्याउने सामग्रीको मूल्य फरक पर्न जान्छ। भन्सार तिरेर ल्याउँदा गुणस्तरीय सामग्री मात्रै भित्रन्छ भने भन्सार नतिरी ल्याउँदा न्यून गुणस्तरको सामग्री पनि भित्रन सक्छन् जसले उपचार प्रक्रिया नै प्रभावित पर्न सक्छ।
नेपाल आउने मेडिकल सामग्रीहरुको नियमनका लागि गरिने रजिस्ट्रेसन प्रक्रिया एकदमै राम्रो हो। जुन केमसानले स्वास्थ्य मन्त्रालयलाई गर्नका लागि सुझाव गरेको थियो। अझै त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे मन्त्रालयले केही भनेको छैन। यद्यपि हामीले नियमनका लागि धेरै सुझाव मन्त्रालयलाई दिइसकेका छौं। पुर्ण रुपमा नियमन गर्न नसकेपनि सुरुवात गर्नुपर्छ भन्ने सुझाव हाम्रो छ।
औषधि व्यवस्था विभागले औषधिलाई जस्तै नियमन मेडिकल सामग्रीहरुलाई गर्न खोजिरहेको छ। त्यो यसमा सम्भव छ्रैन। औषधि नियमनको नियम जस्ता जस्तै यसमा लागु गर्नु सम्भव छैन। यसमा औषधिमा जस्तो कुनै एक कम्पनी वा ब्राण्डको भन्ने हुँदैन। यसमा धेरै प्रकार हुन्छ। त्यस्तै आयातित सामग्रीहरुको गुणस्तर मापन गर्ने संरचना नै औषधि व्यवस्था विभागसँग छैन। कागती प्रक्रियाभन्दा पनि वास्तविक रुपमा गुणस्तर मापन गर्ने संरचना औषधि व्यवस्था विभागसँग हुनु आवश्यक छ।
अहिले धेरै प्रकारका सामग्रीहरु बजारमा आएका छन्। त्यस्ता सामग्रीबारे जानकारी दिनका लागि प्रत्येक आयातकर्ताले बुझाउन असम्भव छ। यसरी सबै आयाकर्ता तथा उत्पादनकर्ता एउटै प्लेटफर्ममा आएर बस्दा अवलोकनकर्ताहरुले सबै सामग्रीहरुको जानकारी एकै स्थानमा लिन सक्छन्। यो बिक्रीको भन्दा पनि विशेषगरी नयाँ प्रविधिबारे जानकारी दिनका लागि गरिएको हो।प्रत्येक दिन मेडिकल क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भइरहेको हुन्छ। विगतका शोमा देखाइएको प्रविधिभन्दा केही नयाँ प्रविधिहरु आइसकेका छन्। त्यसैले यो विगतका शो भन्दा फरक छ।