काठमाडौं- बालबालिकाहरुमा देखिने विभिन्न समस्या मध्ये एक हो, अटिजम। यो रोग नभई एक अवस्था मात्र हो। अटिजम भएका बालबालिकाहरुको मानसिक विकास पूर्ण रुपले भएको हुँदैन।
अटिजम के कारणले हुन्छ ? भन्ने यकिन कारण हालसम्म पत्ता लागेको छैन। तर अटिजम वंशाणुगत कारणले हुन सक्ने चिकित्सकहरु बताउँछन्। आनुवंशिक र गैर आनुवंशिक कारणले पनि अटिजम डिसअर्डर हुन सक्ने उनीहरुको भनाइ छ।
अटिजमलाई धेरैले मानसिक समस्यासँग पनि जोडेर हेर्न गर्छन्। तर अटिजम केयर नेपाल सोसाइटी अध्यक्ष डा सुनिता मलेकु अमात्य यो कुनै मानसिक समस्या र रोग नभई एक अवस्था मात्र भएको बताउँछिन्। कतिपयले अटिजम र बौद्धिक अपाङ्गता एकै हो भनेर पनि बुझ्ने गर्छन्। केही लक्षणहरु मिल्दोजुल्दो भएपनि अटिजम र बौद्धिक अपाङ्गता फरक हुन्।
अटिजम पाँच ज्ञानेन्द्रिय अंगमा (सेन्सर अर्गान) मा आउने समस्या हो। आँखाले नदेख्नु, स्वाद नपाउनु, बोल्न नसक्नु, छोएको थाहा नपाउनु, नसुन्नु र सुँध्ने क्षमतामा समस्या हुन्छ। यी समस्यामध्ये सबै बालबालिकामा फरक फरक देखिन सक्छ। केही बालबालिकामा एक समस्या हुन्छ भने केहीमा दुई वा त्यो भन्दा बढी पनि समस्या देखिन सक्छ।
बौद्धिक अपाङ्गता भएका बालबालिकामा सिक्ने क्षमता सामान्यभन्दा फरक हुने डा अमात्यले बताइन्। उनका अनुसार अटिजम पनि विभिन्न तहमा विभाजन गर्न सकिन्छ। न्यूनतम तहको अटिजम भएका बालबालिकाहरुलाई केही समय थेरापीमा राखेपछि सामान्य दिनचर्यामा फर्काउन सकिन्छ। तर अटिजमको समस्या धेरै भएका बालबालिकामा भने लामा समयको थेरापीको आवश्वक पर्छ। थेरापी मात्र नभई अभिभावकको माया, साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको डा अमात्य बताउँछिन्।
उनी भन्छिन्, ‘अटिजम जन्मेको १८ महिनादेखि ३ वर्ष सम्मको उमेरमा प्रष्ट देखा पर्छ। बालबालिकाहरुमा अटिजम भए नभएको निक्र्यौल पनि यहि समयमा गर्न सकिन्छ।’
समयमा पहिचान गरी थेरापी सुरु गरे अवस्था सुधार गर्दै लैजान सकिने संभावना उनले बताइन्। उनका अनुसार बालबालिकाहरु पुलुक्क हेर्दैनन्, मुसुक्क हाँस्दैनन्, आँखा जुधाउँदैनन्, भनेको बुझ्दैनन्, अरुप्रति रुची राख्दैनन् भने अटिजम भएको अनुमान लगाउन सकिन्छ।
कुनै पनि बालबालिकाको वृद्धि र विकास उमेर अनुसार हुनुपर्छ। तर मस्तिष्कको सीमित क्षेत्रको विकासमा सटईम्पेरिमेन्ट आउँदा बालबालिकामा सञ्चार गर्ने, सामाजिक व्यवहार बुझने क्षमता कम हुन्छ। यस्तै, दोहो¥याएर गरिने व्यवहारहरु, कल्पना शक्तिबाट गरिने कुरा लगायतका पक्षहरुको विकासमा आएको अनिमियतताको कारणले अटिजमको अवस्था उत्पन्न हुने उनले बताइन्।
अटिजम भएका बालबालिकाहरुले देखाउने एकै हुँदैनन्। लक्षण पनि बालबालिका अनुसार फरक पर्छ। यही कारण अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई अटिजम भए नभएको पहिचान गर्नमा समस्या हुने गरेको डा अमात्यले जानकारी दिइन्।
शारीरिक लक्षणसँग उनीहरुले देखाउने सामाजिक व्यवहार पनि फरक हुने भएको बताउँदै उनी भन्छिन्, आफ्नो उमेर समूहका बालबालिकासँग नखेल्ने, शब्द र शांकेतिक ईसारा गरेर आफ्नो कुरा प्रष्ट राख्न नसक्ने, परिवारका सदस्यहरुसँग खेल्न, बोल्न नखोज्ने, प्रतिक्रिया नजनाउने जस्ता व्यवहार उनीहरुमा हुन्छ।
यस्तै, परिवारकै सदस्यलाई पनि नचिनेको जस्तो गर्ने, एक्लै खेल्न रुचाउने, कुनामा बसेर खेल्ने, बिहानको समयमा बक्तिको उज्यालो पर्दा आखा चिम्लिने, कुनै आवाज सुन्दा कान थुन्ने जस्ता लक्षणहरु उनीहरुमा हुन्छ।
तीन वर्षको उमेर सम्म पनि बोली नफुटने, अन्य बालबालिका सरह कुरा गर्न नसक्ने, शब्दहरु दोहो¥याउने, छिटो छिटो बोल्ने तर बोलेको कुरा नबुझने, स्थिर रहन नसक्ने, विभिन्न आवाजहरु निकाल्ने गर्छन्। उनीहरुले अरुले बोलेको कुरालाई सहजै नबुझ्ने र आफ्नै ज्यानको माया पनि नहुने डा अमात्यले बताइन्।
तर कुनै बला मोबाइल जस्ता इलेक्ट्रिक ग्याजेटमा भने अक्षहर चिन्ने र त्यसलाई बोल्न थाल्ने पनि गर्छन्। यसले गर्दा अभिभावकहरु झनै अलमलमा पर्ने गरेको पाइएको छ। अटिजमलाई तीन तहमा विभाजन गरिएको छ। पहिलो, दोस्रो र तेस्रो। पहिलो चरणको अटिजमलाई कम सहयोग भए पुग्छ। दोस्रो चरणको अटिजमलाई घर परिवार, विद्यालय सबैको सहयोग आवश्यक पर्छ। र, तेस्रो चरणको अटिजम भएका बालबालिकाहरुर्ला भने हरेक कुरामा साथ चाहिन्छ।
अटिजमको उपचार
अटिजमको उपचार भनेकै थेरापी हो। यो थेरापीमा पाँच इन्द्रिय र त्यसको काम बारे जानकारी गराईन्छ। थेरापी पनि विभिन्न किसिमको हुने गर्छ। यस थेरापीमा केहीलाई बोल्न र केहीलाई समाजमा कसरी घुलमिल हुन सकिन्छ भनेर सिकाइन्छ। थेरापीको माध्यमबाट बालबालिकाहरुलाई समाज र परिवारका सदस्यहरुसँग घुलमिल हुन, खाना खान र साथीहरुसँग खेल्न सिकाइने गरिन्छ।
अटिजम ठिक पार्ने कुनै औषधि र यो केही महिनामा ठिक हुने पनि होइन। यसको लागि लामो समयको थेरापी आवश्यक पर्छ। तर नेपालमा अहिले पनि अटिजम र यसको थेरापी बारे धेरैलाई थाहा नभएको डा अमात्यले बताइन्। थेरापीको माध्यमले बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन मद्दत पु¥याउँछ। अटिजम सकेसम्म छिटो पहिचान गरेर थेरापीको उपचारमा ल्याउन सके उनीहरुलाई जीवनयापन गर्न सहज हुने उनले बताइन्।
यो समस्या नेपालमा पनि बढ्दो अवस्थामा छ। नेपालमा अटिजम भएका बालबालिकाको यकिन तथ्यांक छैन। तर सोसाइटीका अनुसार देशभर ४ हजार ८८६ जना बालबालिकामा अटिजमको समस्या देखिएको अनुमान छ। प्रत्येक १ सय जना बालबालिकामामध्ये एक जनामा अटिजम रहेको अनुमान सोसाइटीको छ।
उनले भनिन्, ‘अटिजम कुनै रोग होइन, त्यसैले यसको कुनै औषधि पनि छैन। यो एउटा अवस्था हो भन्ने कुरा बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ।’