काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले जग्गा कब्जा गरेको आरोप लगाएपछि नेपाली काँग्रेसका नेता डाक्टर केदारनरसिंह केसीले उक्त आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केसीले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका हुन्।
फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका–९ मनमैजुको सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए।
सोही दिन नै उक्त आरोपको संसद्मा खण्डण गर्ने र ससद्बाट हटाउने मागसमेत उठेको थियो। तर सभामुख देवराज घिमिरेले हटाउन नमिल्ने बताएका थिए।
त्यसपछि डा केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आधार र प्रमाणबिना रास्वपा सांसदहरूले वदनीयतपूर्ण तरिकाले आञ्छना लगाएको बताएका छन्।
यदि प्रमाणित गर्न नसके आफूले कानुनी उपचार खोज्ने उनको चेतावनी छ।
केसीले सार्वजनिक जग्गा र आफ्नो जग्गा फरक–फरक रहेको पनि बताए।
‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन’, उनले भने।