काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी रहेको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाचौं दिक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले भने,‘नेपालमा स्वास्थ्यकर्मीको उत्पादन चुनौतीको भइरहेको छ, प्रत्येक वर्ष १५ सय स्वास्थ्यकर्मी बाहिर गइरहेका छन्, त्यसमा राज्यको नीति पनि दोषी छ। तर त्यसको सुधारमा लाग्नुपर्छ, नीतिगत परिवर्तनका लागि सहकार्य गरौं।’
नेपालको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण संस्थाका रुपमा रहेको न्याम्सले चिकित्सा शिक्षा विश्वसनीय बन्नुमा महत्पूर्ण योगदान गरेकोमा सबैले गर्व गर्नुपर्ने उनले बताए।
पछिल्लो समय नेपालमा उत्पादित स्वास्थ्य जनशक्ति विश्वसनीय तथा मर्यादित बन्दै गएको उनको भनाई थियो। नेपालमा चिकित्सा शिक्षा पढाउन विदेशी विद्यार्थी ल्याउन सकिने नीति बनाउनुपर्ने मन्त्री पौडेलको धारणा छ।
प्रत्येक वर्ष जनशक्ति बढ्दै गइरहनुले स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको मन्त्री पौडेल बताउँछन्। विशिष्टकृत जनशक्ति भएकोले स्वास्थ्यमकर्मीले देश विकासमा बढी योगदान गर्न सक्ने तथा जनताका दुख पीडमा मलम लगाउने उनको विश्वास छ।
चिकित्सक तथा स्वास्थ्यकमीृको व्यवहारसँग स्वास्थ्य गुणस्तरीयता जोडिने भएकोले बिरामीप्रति मर्यादित तथा नम्र बन्नका लागि स्वास्थ्यकर्मीप्रति उनको अनुरोध थियो।
यस वर्ष न्याम्सले थप १२२ सिट पाएसँगै प्रत्येक वर्ष २ सयभन्दा बढी एमडीएमएस जनशक्ति उत्पादन गरिरहेको छ।