भरतपुर- चितवनस्थित भरतपुर अस्पताल धेरै बिरामीको उपचार गर्ने अस्पतालको अग्रपंतिमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाहरुमा वीर अस्पतालपछि धेरै बिरामीले यही अस्पतालबाट सेवा लिने गरेका छन्। आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक हेर्दा ४ लाख ५६ हजार १५९ जनाले ओपीडी सेवा नै लिएका छन् भने ८ हजार २ सय २४ जनाको मेजर सर्जरी गरिएको छ।
पछिल्लो तीन वर्षको ओपीडीमा आउने बिरामीको तथ्यांक मात्रै केलाउने हो भने हरेक वर्ष कम्तिमा डेढलाखका दरले सेवाग्राही संख्या बढिरहेको छ । यसले अस्पतालप्रति बिरामीको बढ्दो भरोसा दर्शाउँछ ।

शहरीकरण सँगसँगै अस्पताल जन्मिएको हो यहाँ । राप्तीदुन उपत्यका विकास समिति र अमेरिकी सहयोगमा २०१२ सालदेखि जंगल तथा झाडी फडानी गरी मानव बस्ती बसाउन थालियो । मलेरिया र औलोको प्रकोपले यहाँ बस्न डराउनेलाई भरोसा दिलाउन २०१३ सालमा हेल्थपोष्ट स्थापना गरियो । अस्पतालको पहिलो मेडिकल अधिकृत डा हिरण्यदेव प्रधानले यस अस्पतालको जग बसाउनुभएको हो। अस्पतालको इतिहासले एलोपेथिक चिकित्साको स्थापना र अभ्यासका साथै राजनीतिक, सामाजिक तथा मानव सभ्यताको नै संकेत गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल बताउँछन्।
२०१४ सालमा अस्पताल भवन बनाउने कार्य प्रारम्भ गरिएको थियो भने २०१५ सालमा १५ शैयाबाट सेवा प्रारम्भ गरी २०१८ सालदेखि २५ शैयामा विस्तार गर्दै विशेषज्ञ सेवा समेत प्रदान गर्न थालिएको थियो। २०२० देखि २०६२/०६३ सम्म महेन्द्र आदर्श चिकित्सालयका रुपमा परिचित अस्पतालले दोस्रो जनआन्दोलन पछि भरतपुर अस्पतालको पहिचान पाएको हो । स्वास्थ्य मन्त्रालयले १५० बेडका लागि मात्रै जनशक्ति उपलब्ध गराउन सकेको छ। तर, अस्पताल विकास समितिले ६०० भन्दा बढी बेडको अस्पताल सञ्चालन गरिरहेको अध्यक्ष राजु पौडेल बताउँछन्।
चाँडै नै सरुवा रोग सेन्टर र ट्रमा सेन्टर चलाएर ७ सय बेड अस्पताल पुर्याउने तयारी अस्पतालले गरेको छ । अस्पतालले दिइरहेको सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल उच्च प्रशंसा गर्छन्।
'भरतपुर अस्पतालमा सयौं बिरामी दैनिक आइरहनुभएको छ। प्रभावकारी ढंगले सेवा दिन अस्पताल परिवार क्रियाशील छ । निरन्तर विश्वास आर्जन गरिरहेको छ। अझै प्रभावकारी सेवा दिनुपर्छ,' उनले भने।
नर्सिङ उपचार सेवाका सबैभन्दा महत्वपूर्ण कडी हुन्। नर्सिङ जनशक्तिको व्यवस्थापन नै अस्पतालको सफलता/असफलतासँग प्रत्यक्ष जोडिने गर्दछ। अस्पताल कर्मचारीहरुमध्ये ५० प्रतिशत नर्सिङ जनशक्ति छ । अस्पतालले नर्सहरुलाई नियमित तालिमका साथै व्यवसायिक सीपज्ञानमा जोड दिइरहेको छ। नर्सहरुको योगदानकै कारण अस्पतालप्रति बिरामीको भरोसा बढेको अस्पतालकी नर्सिङ प्रमुख शान्ता भण्डारी बताउँछिन्। 'एउटा बिरामी अस्पताल पुगेदेखि डिस्चार्ज नहुन्जेलसम्म नर्सिङ सेवा रहन्छ । नर्सले दिने सेवाले नै अस्पताल सेवाको प्रभाव देखाउँछ। जुन हामीले निरन्तर प्रयास गरिरहेका छौं,' उनले भनिन्।

सरकारी अस्पताल भएपनि आफूलाई अरु सरकारीकै भीडमा मिसाएको छैन । केही फरक र आफ्नै मोडेल समेत स्थापित गरेर अघि बढेको छ। नि:शुल्क बस, ब्लु ट्री, भिन्नाभिन्नै फार्मेसी, न्युन शुल्कमा रक्तसेवा, जाडोयाममा बिरामी कुरुवालाई कपडा आदि केही उदाहरण भएको मेडिकल सुपरिटेन्डेन्ट पौडेल बताउँछन्।
फार्मेसीमा औषधीलाई हुने अन्योलता र भीडभाडलाई व्यवस्थित गर्ने कोशिस अस्पतालले गरेको छ। ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, बीमा आदिकाका लागि भिन्नाभिन्नै फार्मेसी रहेको अस्पताल फार्मेसी प्रमुख सविनराज लामिछाने बताउँछन्।
यो व्यवस्थाले बिरामीलाई सहज रुपमा औषधी प्राप्त भएको छ। अस्पताल स्वास्थ्य बीमाका धेरै बिरामी आउनमध्ये पर्छ । त्यसैले उक्त फार्मेसीमा सेवाग्राहीको चाप बढी रहन्छ। त्यसलाई पनि व्यवस्थित गर्ने प्रयास गरिएको डिस्पेन्सरी इन्चार्ज जय पाठक बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भीड ब्यवस्थापन प्राथमिकतामा राखेका छन्। सोहीअनुसार अस्पताललाई निर्देशन दिएका छन्। भरतपुर अस्पतालले भने २०७८ सालदेखि नै अनलाइन टिकट प्रणालीको सुरुवात गरेको थियो। त्यस्तै ल्याब रिपोर्ट समेत क्युरआरबाट लिने सकिने व्यवस्था मिलाएको छ।
उपचार सेवाका साथै अनुसन्धान र शैक्षिक गतिबिधीमा अस्पतालले जोड दिँदै गएको छ । शैक्षिक गतिबिधि बढाउने निरन्तर माथिल्लो निकायमा समेत समन्वय गरिरहेको अध्यक्ष पौडेल बताउँछन्। अनुसन्धानमा आफ्नो तर्फबाट गर्न सकिने कुराको सुरुवात भइसकेको उनको भनाइ छ।