काठमाडौं - भारत लगायतका देशहरुमा कोभिड-१९ फैलिँदै गएको छ। छिमेकी देश भारतमा कोभिड-१९ फैलिरहेको अवस्थामा नेपाल पनि यसको जोखिम बढेको छ।
कोभिड-१९ नेपालमा फैलन नदिन सरकारको तयारी के छ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाएको जानकारी दिएको छ।
महाशाखाका निर्देशक डा चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए। डा झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
‘हालसम्म नेपालमा केशहरु आइसकेको छैन। यद्यपि हामीले सतर्कता भने अपनाएका छौं’, उनले भने ‘सीमा प्रवेश नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई पनि बढी प्रभावकारी बनाउनका छौं।’
हालकै अवस्थामा पनि कोरोना परीक्षणका किटहरु स्टकमा रहेको उनले बताए। सबै नाकामा अहिले नै किटहरु वितरण गर्नुपर्ने अवस्था नभएकोले आवश्यकता अनुसार वितरण गरिने उनले जानकारी दिए। महाशाखाले कोभिड-१९ का लक्षणहरु तथा यसबाट बच्ने उपायका लागि जनचेतना फैलाउने कार्य समेत गरिरहेको उनको दाबी छ।
रोकथामका लागि औषधीजन्य सामग्रीहरुको लिष्ट पठाइएको उनी बताउँछन्। सामान्य अवस्थामा पनि महाशाखा महामारीसँग जुध्नका लागि तयारी अवस्थामा नै रहेको डा झाको दाबी छ। विश्व स्वास्थ्य संगठनले पनि एक महिनाभित्र नै त्यसका तयारीका लागि आवश्यक खरिद प्रक्रिया सक्ने वचन दिएको उनले बताए।
भारतमा लगायत अन्य मुलुकमा फैलिएको उक्त भाइरल नेपालमा अहिले नै फैलिनसकेको अवस्थामा आत्तिहाल्नुपर्ने अवस्था नरहेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। कोभिड नेपालमा आउने जाने क्रम चलि नै रहेकोले पनि त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको डा पुन बताउँछन्।
‘संक्रामक भाइरल भएपनि धेरै नै घातक रहेको भन्ने अहिलेसम्म छैन। यद्यपि ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई जटिलता ल्याउने सम्भावना छ’, उनले भने, ‘वेवास्ता गर्नुभएन तर आत्तिनुपर्ने अवस्था पनि छैन।'
सकभर भीडभाडमा सामेल नहुने, मास्कको अनिवार्य गर्ने, साबुनपानीले हात धुने, रुघाखोकी लाग्दा सतर्कता अपनाउने लगायत रोकथामका उपायहरु अपनाउन डा पुनको सुझाव छ।