कुनै पनि मानिसले ग्यास छोड्नु सामान्य प्रक्रिया हो । सामान्यतया एक व्यक्तिले दिनमा पाँचदेखि पन्ध्र पटकसम्म ग्यास छोड्छ ।
सत्य कुरा के हो भने, यदि ग्यासका कारण हुने असहजता वा लाजलाई बेवास्ता गरियो भने, बढी ग्यास हुनु राम्रो स्वास्थ्यको संकेत मान्न सकिन्छ ।
यसको अर्थ तपाईंले ग्यास उत्पादन गर्ने, तर स्वास्थ्यका लागि लाभदायी खानेकुरा खाइरहनुभएको छ । ग्यास उत्पादन गर्ने खाद्यपदार्थ प्रायः मुटुका लागि फाइदाजनक हुन्छन् । यस्ता खानेकुरा फाइबरले भरिपूर्ण जटिल कार्बोहाइड्रेट हुन्छन् ।
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।
अब जानौँ, कुन–कुन खानेकुराबाट ग्यास बन्न सक्छ, कुन–कुन खानेकुराले ग्यासमा दुर्गन्ध ल्याउन सक्छन्, र ग्याससम्बन्धी समस्या भएमा कहिले चिकित्सकलाई देखाउनुपर्छ ।
१. बोसोयुक्त खाना
बोसो बढी भएका खानेकुराले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । यसले खाना लामो समयसम्म आन्द्रामा रहन सक्छ र फर्मेन्ट हुन थाल्छ । यही कारणले ग्यासमा दुर्गन्ध आउन थाल्छ ।
उदाहरणका लागि, बोसोयुक्त रातो मासुमा मेथियोनिन नामक सल्फरयुक्त एमिनो एसिड हुन्छ । आन्द्रामा ब्याक्टेरियाले यसलाई हाइड्रोजन सल्फाइडमा बदल्छन्, जसको गन्ध सडेको अण्डाजस्तै हुन्छ ।
२. बीन्स र दाल
दाल तथा बीन्समा फाइबर धेरै हुन्छ, तर रेफिनोज नामक जटिल चिनी पनि हुन्छ । हाम्रो शरीर यसलाई सहजै पचाउन सक्दैन ।
यो आन्द्रामा पुगेपछि ब्याक्टेरियाले यसलाई टुक्र्याउँदा हाइड्रोजन, मिथेन र कहिलेकाहीँ सल्फरयुक्त ग्यास बन्छ ।
३. अण्डा
अण्डामा पनि मेथियोनिन हुन्छ, जसले दुर्गन्धयुक्त ग्यास बनाउन सक्छ ।
यदि अण्डा खाँदा पेट फुल्ने वा ग्यास हुने समस्या हुन्छ भने अण्डाप्रति एलर्जी पनि हुन सक्छ ।
४. प्याज
प्याज, लसुन, हरियो प्याज तथा आर्टिचोकमा फ्रक्टान नामक कार्बोहाइड्रेट हुन्छ, जसले ग्यास र पेट फुल्ने समस्या बढाउँछ ।
५. दूध तथा डेयरी उत्पादन
गाई वा बाख्राको दूधमा हुने ल्याक्टोज नामक चिनी धेरै मानिसले पचाउन सक्दैनन् ।
विश्वका करिब ६५ प्रतिशत वयस्कमा कुनै न कुनै स्तरको ल्याक्टोज इन्टोलरेन्स हुन्छ, जसले ग्यास र पेट फुल्ने समस्या ल्याउँछ ।
६. गहुँ तथा पूरै अन्न
ओट्स, गहुँ, जौ, आदिमा पनि फ्रक्टान हुन्छ ।
गहुँ, जौमा हुने ग्लुटेन पचाउन नसक्ने व्यक्तिमा ग्यास र पेट फुल्ने समस्या बढ्न सक्छ ।
७. ब्रोकोली, फुलगोभी, बन्दाकोभी
यी क्रुसीफेरस तरकारीमा फाइबर धेरै हुन्छ । आन्द्रामा ब्याक्टेरियाले यसलाई ऊर्जा बनाउन प्रयोग गर्दा ग्यास बन्छ ।
यीमा सल्फर पनि हुन्छ, जसले ग्यासको गन्ध बढाउँछ ।
८. फलफूल
स्याउ, नास्पाती, आँपमा फ्रक्टोज धेरै हुन्छ, जुन धेरै मानिसले सजिलै पचाउन सक्दैनन् ।
फ्रक्टोज पचाउन नसक्दा ग्यास र पेट फुल्ने समस्या हुन्छ ।
ग्यास कम गर्नका सुझाव
फाइबर बिस्तारै बढाउनुहोस् — अचानक धेरै फाइबर खाँदा ग्यास बढ्छ ।
धेरै पानी पिउनुहोस् — कब्जियत कम हुन्छ र ग्यासको दुर्गन्ध घट्छ ।
पेपरमिन्ट चिया पिउनुहोस् ।
कार्बोनेटेड पेय (कोल्ड ड्रिङ्क) कम गर्नुहोस् ।
छिटो खानु वा चपाउनु, चुइङ्गगम चपाउनुबाट पनि हावा पेटमा पर्छ र ग्यास बढ्छ ।
यदि लगातार पेट दुख्ने, अत्यधिक फुल्ने, वा ग्याससँगै अन्य पाचन समस्या देखिन्छ भने चिकित्सकको सल्लाह लिनुपर्छ