हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताह केवल एउटा स्वास्थ्य सम्बन्धी कार्यक्रम मात्र होइन, यो शिशुको जीवन, आमाको स्वास्थ्य र समाजको भविष्यसँग जोडिएको विश्वव्यापी अभियान हो। सन् १९९२ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले यसको सुरुवात गरेका थिए, र आज यो १२० भन्दा बढी देशमा मनाइन्छ। यसको उद्देश्य सबै आमाहरू र परिवारलाई स्तनपानको महत्त्वबारे सजग बनाउनु, स्तनपान सम्बन्धि गलत धारणाहरू हटाउनु र शिशुलाई जन्मिएको पहिलो क्षणदेखि नै स्वस्थ जीवनको आधार दिनु हो। जन्मपश्चात् पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो ६ महिना पूर्ण रूपमा आमाको दूध मात्र खुवाउनु यसको मुख्य सन्देश हो।
स्तनपानलाई कहिल्यै साधारण कुरा ठान्नु हुँदैन, किनभने यो शिशुको पहिलो खोप जस्तै हो। आमाको दूधमा पाइने प्राकृतिक एन्टिबडी र पोषक तत्वहरूले शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ। यसमा हुने प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन र मिनरलहरू शिशुको आवश्यकताअनुसार सन्तुलित रूपमा हुन्छ, जुन कुनै पनि कृत्रिम दूधले पूरा गर्न सक्दैन। यो सफा, सुरक्षित र सधैं उपलब्ध हुन्छ, जसले गर्दा बच्चा कुनै पनि वातावरणमा रोगको जोखिमबाट धेरै हदसम्म बच्न सक्छ। झाडापखाला, निमोनिया, कानको संक्रमणजस्ता रोगहरूको सम्भावना उल्लेखनीय रूपमा घट्छ, जसले शिशुको जीवनदरमा सुधार ल्याउँछ।
आमाका लागि पनि स्तनपान अत्यन्त फाइदाजनक हुन्छ। यो केवल शिशुलाई पोषण दिने साधन मात्र होइन, आमा–शिशुबीचको भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाउने प्रक्रिया हो। स्तनपानले प्रसूति पश्चात् रगत बग्ने प्रक्रियालाइ विस्तारै कम गर्दै जान्छ , गर्भाशयलाई छिटो सामान्य अवस्थामा फर्काउँछ र प्राकृतिक गर्भनिरोधमा सहयोग पुर्याउँछ। लामो समय स्तनपान गर्ने महिलामा स्तन क्यान्सर र गर्भाशय क्यान्सरको जोखिम कम हुने अध्ययनहरूले देखाएका छन्। साथै, यसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ किनभने शिशुसँगको नजिकको सम्पर्कले आमा–बच्चा दुवैमा सन्तोष र सुरक्षाको भावना विकास गर्छ।
आजको समयको आवश्यकता झन् बढेको छ। आधुनिक जीवनशैली, व्यस्त दिनचर्या, शहरीकरण, र कृत्रिम दूधको आक्रामक बजारले स्तनपानको अभ्यासमा कमी ल्याइरहेको छ। कतिपय परिवारमा अझै पनि स्तनपान पर्याप्त छैन वा बच्चालाई तत्काल कृत्रिम दूध दिनुपर्छ भन्ने गलत धारणा जिवित छ। यस्ता सोच हटाउन र सही अभ्यासलाई पुनः प्रोत्साहन गर्न विश्व स्तनपान सप्ताहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। विश्व स्वास्थ्य संगठनले स्पष्ट सिफारिस गरेको छ कि बच्चा जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ, पहिलो ६ महिना केवल आमाको दूध मात्र दिनुपर्छ, र ६ महिनापछि पूरक आहार सुरु गरे पनि कम्तीमा दुई वर्षसम्म स्तनपान जारी राख्नुपर्छ।
यो अभियानले केवल आमाहरूलाई मात्र होइन, बुबा, परिवारका सदस्य, स्वास्थ्यकर्मी र सम्पूर्ण समाजलाई जिम्मेवार बनाउने सन्देश दिन्छ। किनभने स्तनपान केवल आमाको व्यक्तिगत निर्णय मात्र होइन, यो परिवारको समर्थन र समाजको समझदारीमा आधारित हुन्छ। आमा–बच्चाको स्वास्थ्य संरक्षणको यो अभ्यासलाई प्रोत्साहन दिन हामी सबैले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिनुपर्छ।
अन्ततः, विश्व स्तनपान सप्ताह हामीलाई सम्झाउँछ कि आमाको दूध संसारको सबैभन्दा प्राकृतिक, सुरक्षित, सस्तो र प्रभावकारी पोषण स्रोत हो। यो बच्चाको जीवनको पहिलो र अमूल्य उपहार हो, जसले तन्दुरुस्ती मात्र होइन, दीर्घकालीन स्वास्थ्य र विकासको आधार निर्माण गर्छ। “आमाको दूध – शिशुको पहिलो र उत्तम अधिकार” भन्ने सन्देश हामी सबैको मनमा बसालेर मात्र हामी स्वस्थ र सबल पुस्ता निर्माण गर्न सक्छौं।
(शाइ जनस्वास्थ्य निरीक्षक हुन् । उनी राप्तीसोनारी गाउँपालिका-६ आधारभूत स्वास्थ्य केन्द्रका कमैयाडाँडा बाँकेमा कार्यरत छन्)