जनैपूर्णिमामा क्वाटी खाने परम्परा हाम्रो संस्कृतिमा पुरानो र स्वास्थ्यप्रद मानिन्छ। विभिन्न गेडागुडी मिसाएर बनाइने यो सुप न केवल स्वादिष्ट हुन्छ, बरु प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण हुने भएकाले वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
सामग्री (४–५ जनाका लागि):
भिजाएर उमारेको गेडागुडी - ५०० ग्राम (आधा किलो)
तोरीको तेल वा घ्यु - १५ मिलि
सुकेको खुर्सानी - ४ पिस
ज्वानो - १ सानो चम्चा
मिक्स गरम मसला (होल) - २ ग्राम
अदुवा–लसुन पिसेको - १२ ग्राम
प्याज (मध्यम आकार) - १ वटा, सानो टुक्रामा काटेको
नुन - स्वाद अनुसार
बेसार - १ सानो चम्चा
जीरा–धनियाँको धुलो - १ चम्चा
खुर्सानीको धुलो - ½ चम्चा
हरियो धनियाँ - आधा मुठा, काटेको
भेज़ स्टक वा तातो पानी - आवश्यक मात्रामा
विधि:
गेडागुडी तयार गर्ने - गेडागुडीलाई एक रात पानीमा भिजाएर उमारेपछि सफा पानीले राम्ररी पखाल्नुहोस् र एकपट्टि राख्नुहोस्।
मसला तताउने - प्रेसर कुकरमा तोरीको तेल वा घ्यु तताएर ज्वानो, होल गरम मसला, र टुक्र्याइएको सुकेको खुर्सानी छर्केर हल्का फुराउनुहोस्। त्यसपछि अदुवा–लसुन पेस्ट हालेर सुनौलो रंग आउँदासम्म चलाउनुहोस्।
प्याज र मसला मिसाउने - काटेको प्याज हालेर हल्का सुनौलो हुनेसम्म भुट्नुहोस्। त्यसपछि बेसार, जीरा–धनिया पाउडर, खुर्सानी पाउडर र नुन मिसाएर मसला भुट्नुहोस्।
गेडागुडी पकाउने - तयार गेडागुडी मिसाएर हल्का चलाउनुहोस्। आवश्यक मात्रामा भेज़ स्टक वा तातो पानी हालेर कुकरको ढक्कन बन्द गरी ३–४ सिट्टी बज्दासम्म पकाउनुहोस्।
सजावट र पस्कने - पाकिसकेपछि काटेको हरियो धनियाँ छर्केर ततैको तातो पस्कनुहोस्।
खाने तरिका:
क्वाटीलाई सुपको रूपमा तात्तातो खाँदा चिसो मौसममा शरीर तातो राख्न मद्दत हुन्छ।
दालको विकल्पमा भात वा चिउरासँग पनि लिइन सक्छ।
रोटी वा भुजासँग पनि यो उत्कृष्ट मेल खान्छ।
वैकल्पिक तरिका: यदि सजिलो चाहनुहुन्छ भने गेडागुडीमा नुन, बेसार, तेल र पानी हालेर दालझैँ पकाउनुहोस् र अन्तमा झोल बनाइ झान्न सक्नुहुन्छ। यसरी पनि क्वाटी स्वादिलो र पौष्टिक बन्छ।