काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा उनलै हालै गरेको पछिल्लो तुर्कमेनिस्तान भ्रमण, समसामयिक विषयवस्तु, एक वर्षको कार्यकालमा सरकारले गरेका प्रगति लगायतका विषयमा सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले एक वर्षको कार्यकालमा गरेका उपलब्धिहरुका विषयलाई पनि बुँदागत रुपमा संसदमा जानकारी दिएका छन्। जसमा स्वास्थ्यका विषयहरु पनि परेका छन्।
स्वास्थ्यसँग जोडिएका ६ वटा विषय उनको सम्बोधनका क्रममा आएका छन्।
यी हुन् संसदमा प्रधानमन्त्री ओलीले उठाएका स्वास्थ्यका ६ विषय
- गत आर्थिक वर्षमा १ सय ३१ पटक जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको नि:शुल्क हवाइ उद्धार गरिएको छ ।
- हरेक स्थानीय तहमा एक आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्य अनुरुप निर्माणाधीन ४१५ वटा अस्पतालमध्ये ५५ वटा सम्पन्न भई सञ्चालनमा आएका छन् । यी अस्पताल सञ्चालनको लागि तीनै तहका सरकारको सहभागिता एवं समन्वय हुनेगरी आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको छ ।
- देशभरका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको छ । सञ्चालन हुन बाँकी रहेका १५० स्थानीय तहहरूमा यी कार्यक्रमलाई यस अबधिमा सञ्चालनमा ल्याइएको छ ।
- सातवटै प्रदेशमा जलन, मुटु, क्यान्सर र मिर्गौला रोगको उपचार सेवा विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश बाहेकका सबै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरिएको छ ।
— पहिलोपटक नियमित खोप तालिकामा समेटिनेगरी पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सञ्चालन गरिएको छ । यस अबधिमा करिब १६ लाख किशोरीलाई यो सेवा प्रदान गरिएको छ ।
— आम नागरिकको स्वास्थ्य सेवामा वित्तीय सुरक्षा सुनिश्चित गर्न प्रवेश बिन्दु तोकी दायरा विस्तार गरिएको छ । यसले प्रक्रियालाई सरल बनाएको छ । कडा रोगहरूको उपचारमा थप रु १ लाख पाउने व्यवस्था गरिएको छ ।