नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर संकटमा छ। दाँतमा किराले लाग्ने समस्या, मसूडा रोग, मुखको क्यान्सर, टेढा–मेढा दाँत, दन्त फोडा र अन्य समस्या लाखौँ नेपालीलाई प्रभावित गर्दै छन्। अध्ययनहरूले देखाउँछन् कि करिब आधा वयस्क नेपाली मसूडा रोगबाट पीडित छन् भने बालबालिकामा सानै उमेरदेखि दाँत किराले व्यापक असर पार्दैछ।
तर नेपालमा मुख स्वास्थ्य अझैसम्म जीवनको प्राथमिकतामा परेको छैन। हामी प्रायः ज्वरो, मधुमेह, रगतचाप जस्ता दीर्घकालीन रोगलाई गम्भीर मान्छौं, तर दाँत किराले लाग्नु, मसूडा सुन्निनु, वा मुख दुर्गन्ध आउनु सामान्य ठान्छौं। यही कारणले धेरैले दन्त रोगलाई बेवास्ता गर्छन् र समयमै उपचार गराउँदैनन्।
सचेतना कमी, विद्यालय-स्तरको मुख स्वास्थ्य कार्यक्रमको अभाव, बीमा नहुनु, र ढिलो उपचार गर्ने प्रवृत्तिले समस्यालाई अझ गम्भीर बनाएको छ। दन्त रोग केवल मुखभित्र सीमित छैन; यसले सम्पूर्ण शरीर र जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्छ। दाँत वा मसूड़ाको समस्या खानपान, पोषण, बोल्ने क्षमता, आत्मविश्वासमा मात्र नभई हृदयघात, स्ट्रोक, मधुमेह, गर्भावस्था सम्बन्धी जटिलता, र मस्तिष्क रोगसम्म असर गर्न सक्छ।
आज नेपालमा लाखौं मानिस सजिलो र सस्तो रोकथामका उपाय अपनाउन नसकेर दन्त रोगबाट पीडित छन्। ग्रामीण क्षेत्रका मानिसहरू अझ बढी जोखिममा छन्, जहाँ नियमित दन्त सेवा र जनचेतना दुवैको कमी छ।
नेपालमा देखिने प्रमुख दन्त रोगहरू:
नेपालमा दाँत किराले लाग्ने रोग (Dental Caries) र मसूडा रोग (Gum Disease) सबैभन्दा धेरै देखिने समस्या हुन्। अध्ययनहरूले देखाउँछन् कि करिब आधा वयस्क नेपाली मसूडा रोगबाट पीडित छन्, भने बालबालिकामा सानै उमेरदेखि नै दाँत किराले लाग्ने समस्या व्यापक रूपमा पाइन्छ। दुर्भाग्यवश, नेपालमा विद्यालय-स्तरको दन्त स्वास्थ्य कार्यक्रम नहुँदा बच्चाहरूमा प्रारम्भमै रोगको रोकथाम वा उपचार गर्न सकिँदैन। यससँगै सुपारी, तमाखु, खैनी, बीडी, चुरोट र मदिरा सेवन गर्ने गलत बानीले मुखको क्यान्सर समेत बढ्दो अवस्थामा पुगेको छ।
दाँत किराले लाग्ने रोग नेपालमा सबैभन्दा बढी देखिने दन्त समस्या हो। प्रायः बालबालिकामा सानै उमेरदेखि सुरु हुने यो रोगको मुख्य कारण नियमित दन्त परीक्षण र विद्यालय-आधारित दन्त स्वास्थ्य कार्यक्रमको अभाव हो। धेरै मुलुकमा विद्यालयमै निःशुल्क दन्त परीक्षण हुन्छ, तर नेपालमा यस्तो सुविधा नहुँदा बच्चाहरू स-साना समस्यामा पनि उपचारविहीन रहन्छन्।
मसूडा रोग वयस्कमा अत्यधिक देखिने समस्या हो। सुरुमा मसूडा रातो हुने, सुन्निने वा ब्रस गर्दा रगत आउने लक्षण देखिन्छ। उपचार नगरेमा यसले दाँत हल्लिने, झर्ने र मुख दुर्गन्ध जस्ता गम्भीर समस्या ल्याउँछ।
त्यस्तै, मुखको क्यान्सर पनि नेपालमा बढ्दो अवस्थामा छ। सुपारी, तमाखु, खैनी, बीडी, चुरोट र मदिरा सेवन गर्ने बानीले यसलाई अझ बढाइरहेको छ। प्रायः ओठ, जिब्रो, गाला भित्रतिर वा मसूडामा देखिने यो रोग प्रारम्भिक स्क्रिनिङ र छिटो उपचार भएमा रोक्न वा निको पार्न सकिन्छ।
नेपालका धेरै बालबालिकामा टेढा–मेढा दाँत वा जबडाको असमानता (Malocclusion) को समस्या पाइन्छ। समयमै उपचार नगरेमा खानपानमा कठिनाइ, बोल्न असर र अनुहारको सौन्दर्यमा समस्या आउँछ। अर्थोडोन्टिक ब्रासेस उपचारले यसलाई सुधार गर्न सकिन्छ।
बालबालिकामा खेलकुद वा दुर्घटनाका कारण अगाडिको दाँत भाँचिने समस्या पनि सामान्य छ, जसलाई दन्त आघात (Dental Trauma) भनिन्छ। समयमै उपचार नगरेमा यस्तो दाँत मर्ने वा झर्ने सम्भावना रहन्छ।
गहिरो किरा वा मसूडाबाट हुने संक्रमणका कारण दन्त फोडा (Dental Abscess) बन्न सक्छ, जसले अनुहार सुन्निने, ज्वरो आउने र तीव्र दुखाइ ल्याउँछ। ढिलो उपचार गर्दा यो संक्रमण शरीरका अन्य भागमा समेत फैलिन सक्छ।
धेरैजसो औषधि सेवन, मधुमेह वा उमेर बढेसँगै मुख सुक्खा हुने समस्या (Xerostomia) देखिन्छ। यसले किरा छिटो लाग्ने, मुख दुर्गन्ध, खान र बोल्न गाह्रो हुने समस्या ल्याउँछ।
तनाव, पोषणको कमी वा संक्रमणका कारण मुखभित्र स–साना घाउ (Oral Ulcer) देखिन्छन्। प्रायः केही दिनमै आफैं निको भए पनि बारम्बार हुने अवस्था गम्भीर हुनसक्ने भएकाले चिकित्सकको सल्लाह आवश्यक हुन्छ।
दन्त संवेदनशीलता (Dental Sensitivity) दाँत सिँरिङ हुने (दाँत चिसो, तातो वा मीठो–खट्टा खानपानमा छोटो समयको तीव्र दुखाइ अनुभव हुने पनि धेरै नेपालीमा पाइने समस्या हो। कारण इनेमल घिसिने, मसूडा तल झर्ने वा गहिरो किरा हुन सक्छ।
त्यस्तै, कतिपय बच्चामा दाँत समयमै नफेर्ने वा स्थायी दाँतको स्थिति बिग्रने समस्या हुन्छ, जसलाई Eruption Problem भनिन्छ। यसले दाँत टेढा–मेढा हुने वा मुखमा भिड बढ्ने सम्भावना बढाउँछ। नभएका दाँतहरू(Missing teeth) - क्षतिग्रस्त वा हल्लिने दाँत निकाल्दा चपाउने क्रममा कठिनाइ हुने समस्या।
दन्त स्वास्थ्य र शरीरका अन्य रोगबीचको सम्बन्ध:
मुख स्वास्थ्य र शरीरका रोगबीच गहिरो सम्बन्ध छ। मसूडा रोग र दाँतमा संक्रमण हुँदा हृदयघात, स्ट्रोक र धमनीमा अवरोधको जोखिम बढ्छ, मधुमेह भएका व्यक्तिमा मसूडा रोग बढी देखिन्छ भने मसूडा रोगले blood sugar नियन्त्रण गाह्रो बनाउँछ। गर्भवती महिलामा मसूडा समस्या(gums problem) हुँदा कम तौलको बच्चा जन्मिनु(low birth weight baby), समयअघि जन्मिनु(Preterm baby) वा गर्भपतनको सम्भावना बढ्छ।
मुखका जीवाणुहरूले मस्तिष्कमा असर गरी अल्जाइमर र डिमेन्सिया जस्ता न्यूरोलोजिकल रोगको जोखिम बढाउन सक्छन्। साथै, मुखको जीवाणुले सास नलीमा प्रवेश गर्दा निमोनिया र अन्य श्वास–संक्रमणको सम्भावना बढाउँछ। दाँत र मसूडा रोगले खानपान र पोषणमा असर पुर्याउँछ, जसले हड्डी, मांसपेशी र समग्र स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। यसैले, मुख स्वास्थ्य केवल दाँतको समस्या होइन, सम्पूर्ण शरीर र जीवनशैलीसँग सिधा सम्बन्धित छ र यसलाई समयमै जाँच र रोकथाम गर्नु अत्यावश्यक छ।
नेपालमा दन्त उपचार ढिलो खोजिने प्रमुख कारणहरू:
१. दुखाइ नहुन्जेल समस्या नबुझ्ने बानी- धेरै नेपालीले दन्त समस्यालाई सामान्य ठान्छन्। सुरुमा मसूडा रातो हुने, रगत आउने वा दाँतमा स–साना प्वाल देखिँदा ध्यान नदिने, तर तीव्र दुखाइ भएपछि मात्र उपचार खोज्ने प्रवृत्ति हुन्छ।
२. सचेतना र ज्ञानको कमी- विद्यालय वा सामुदायिक स्तरमा दन्त स्वास्थ्य शिक्षा पर्याप्त छैन। धेरैलाई नियमित चेकअप आवश्यक हुन्छ भन्ने थाहा नै छैन।
३. आर्थिक कारण- धेरैलाई दन्त उपचार महँगो लाग्छ। साधारण समस्या भए पनि खर्च बचाउन ढिलोसम्म प्रतीक्षा गर्ने बानी हुन्छ।
४. भौगोलिक पहुँच र सेवा अभाव- ग्रामीण क्षेत्रमा दन्त चिकित्सकको कमी छ। नजिकै सेवा नपाउँदा मानिसहरू सहर वा जिल्ला अस्पताल पुग्न ढिला गर्छन्।
५. परम्परागत उपचारमा भर पर्नु- कतिपयले मसाला, घरेलु औषधि वा दन्त फर्मुला प्रयोग गरेर उपचार गर्न खोज्छन्। यसले वास्तविक समस्या लुक्छ र ढिलो गरी गम्भीर अवस्थामा मात्र अस्पताल पुग्छन्।
६. डर र संकोच (Dental Anxiety)- धेरैलाई दन्त उपचार गर्दा धेरै दुख्छ भन्ने भ्रम हुन्छ। चिकित्सक वा उपकरण देखेर डर लाग्ने भएकाले अन्तिम क्षणसम्म उपचार टार्ने बानी हुन्छ।
७. प्राथमिकतामा नपर्नु- नेपाली समाजमा दन्त स्वास्थ्यलाई शरीरका अन्य रोगभन्दा कम प्राथमिकता दिने प्रवृत्ति छ। पेट, मुटु वा अन्य रोगलाई गम्भीर मानिन्छ तर दाँत–मसूडा रोगलाई सामान्य समस्या ठानिन्छ।
नेपालमा दन्त उपचार ढिलो हुने समस्याको समाधानका उपायहरू
१. जनचेतना अभिवृद्धि (Awareness and Education)- विद्यालय-स्तरमै ओरल हेल्थ एजुकेसन अनिवार्य गरिनु पर्छ। टेलिभिजन, रेडियो, सोशल मिडिया र समुदाय स्तरका अभियानमार्फत नियमित ब्रस, फ्लस, चेकअपको महत्त्व बुझाउनुपर्छ। “दाँत दुख्नुअघि नै डेन्टिस्टकहाँ जानुपर्छ” भन्ने चेतना फैलाउन आवश्यक छ।
२. विद्यालय-आधारित दन्त स्वास्थ्य कार्यक्रम- बालबालिकामा दाँत किराले लाग्ने समस्या धेरै हुने भएकाले विद्यालयमै निःशुल्क दन्त परीक्षण गर्नुपर्ने आवश्यकता छ। सरकारी स्तरमा “School Dental Program” सुरु गर्न सकिन्छ जसले प्रारम्भमै समस्या पत्ता लगाउँछ।
३. सस्तो र पहुँचयोग्य सेवा (Affordable and Accessible Care)-सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नियमित दन्त सेवा उपलब्ध गराउनुपर्छ। दन्त उपचारलाई Insurance Scheme मा समावेश गर्न सकिन्छ जसले सामान्य जनताले उपचार सजिलै पाउन सक्छन्।
४. ग्रामीण क्षेत्रमा दन्त चिकित्सक पठाउने व्यवस्था- अहिले दन्त चिकित्सक प्रायः सहरमा मात्र केन्द्रित छन्। सरकार वा निजी संस्थाले Mobile Dental Camps सञ्चालन गर्नुपर्छ। “One Dentist for One Municipality” जस्तो नीति ल्याउन सकिन्छ।
५. डर र संकोच घटाउने कार्यक्रम (Reducing Dental Anxiety)- दन्त चिकित्सकले pain-free dentistry प्रविधि अपनाउनुपर्छ। जनतालाई उपचार सुरक्षित र सजिलो हुन्छ भन्ने विश्वास दिलाउन निरन्तर अभियान गर्नुपर्छ।
६. परम्परागत सोचमा सुधार (Changing Traditional Practices)- घरेलु उपचार वा सुपारी, खैनी, तम्बाकु प्रयोग गर्ने हानिकारक बानीबारे स्पष्ट जानकारी दिनुपर्छ। सामुदायिक स्वास्थ्य कार्यकर्ता (FCHV) मार्फत गाउँ-गाउँमा सही सन्देश पुर्याउन सकिन्छ।
७.नियमित स्क्रिनिङ र इअर्ली डिटक्सन- प्रत्येक वयस्कलाई वर्षमा कम्तीमा १ पटक दन्त चेकअप गर्न प्रेरित गर्नुपर्छ। मुखको क्यान्सर वा अन्य रोग प्रारम्भमै पत्ता लागे सजिलै निको पार्न सकिन्छ।
घरमै मुख स्वास्थ्य/दन्त रोग रोक्ने उपायहरू:
१. दाँत सफा गर्ने सही तरीका- दिनमा दुई पटक ब्रस गर्नुहोस् - बिहान नास्ता पछि र राति खाना खाएपछि। एकपटक इन्टरडेन्टल ब्रस वा फ्लस प्रयोग गर्नुहोस्।”फ्लोराइड भएको टूथपेस्ट प्रयोग गर्नुहोस्। ब्रस गर्दा धेरै दबाब नदिनुहोस्; हल्का गोलाकार घुमाउँदै सफा गर्नुहोस्।
२. दाँत बीच सफा गर्ने उपाय- फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गरेर दाँतबीचको खाना र ब्याक्टेरिया सफा गर्नुहोस्। यसले दाँत र मसूडा रोग दुबै रोक्न मद्दत गर्छ।
३. मुख धुनु (Mouthwash)- खाजा वा खाना खाएपछि मुखलाई पानीले राम्ररी धुनुहोस्। यसले दाँतमा अड्किएका खाना कणहरू हटाउँछ र खानापछि मौखिक अम्लीय pH छिटो सन्तुलनमा ल्याउन मद्दत गर्छ।” नजिकैको दन्त चिकित्सकको सुझावअनुसार आवश्यक परे प्रयोग गर्नुहोस्- राति सुत्नु अघि एंटीसेप्टिक माउथवाश । यसले ब्याक्टेरियाको वृद्धिलाई रोक्छ र मुख दुर्गन्ध कम गर्छ।”
४. खानेकुरामा ध्यान दिनुहोस्- चिनी र मिष्ठान्नको अत्यधिक सेवन घटाउनुहोस्। फलफूल, तरकारी र प्रोटिनयुक्त खाना खानुहोस्। सुपारी, तमाखु, खैनी, बीडी, चुरोट र मदिरा छोड्नुहोस्।
५. नियमित पानी पिउनुहोस्- पर्याप्त पानी पिउँदा मुख सुक्खा हुँदैन र ब्याक्टेरिया कम हुन्छ।
६. नियमित दन्त जाँच- ६ महिना–१ वर्षमा एक पटक दन्त चिकित्सककहाँ जाँच गर्नुहोस्। सुरुमै समस्या पत्ता लागे सजिलै उपचार हुन्छ।
७. दन्त सुरक्षा अभ्यास- बाहिरी खेलकुद गर्दा दन्तमा चोट/ट्रामा रोक्न माउथगार्ड लगाउनुहोस्।
८. घरमै सानो समस्या नियमन -गिँजा सुन्ने वा दाँतमा हल्का दुखाइ भएमा नुनिलो पानीले मुखलाई रिन्स गर्नुहोस्। यदि दन्त समस्या लगातार रहिरह्यो भने नजिकैको पीरियडोन्टिस्ट वा एनएमसी दर्ता भएको दन्त चिकित्सकसँग परामर्श गर्नुहोस्।”
नेपालमा मुख स्वास्थ्य संकट अहिले गम्भीर हुँदै गएको छ। दन्त रोगले केवल मुखमा असर पुर्याउँदैन, तर सम्पूर्ण स्वास्थ्य र जीवनशैलीमा पनि प्रभाव पार्छ। तर यो समस्या पूरै समाधानयोग्य छ। सस्तो र सरल रोकथाम उपाय जस्तै नियमित ब्रस, फ्लस, माउथवाशको प्रयोग, स्वास्थ्यकर खानपान, र सुपारी–तमाखु जस्ता हानिकारक बानी छोड्ने बानीले दन्त रोगलाई सहजै रोक्न सकिन्छ। साथै, विद्यालय स्तरमै दन्त स्वास्थ्य कार्यक्रम सञ्चालन र बीमा प्रणालीमा दन्त उपचार समावेश गर्दा लाखौँ नेपालीलाई समयमै उपचार पाउने अवसर मिल्छ।
समग्रमा भन्नुपर्दा, “दन्त उपचार महँगो होइन, उपचार टार्न ढिलाइ नै महँगो हो।” अर्थात्, समस्या सुरु भएपछि मात्र उपचार खोज्दा खर्च र पीडा दुवै बढ्छ। सुरुमा नै रोकथाम र समयमै जाँचले दन्त स्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ।
(डा. शाहले बीडीएस र एमडीएस कलेज अफ डेन्टल सर्जरी, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, नेपाल बाट पूरा गरेका हुन्। उनी वर्तमानमा रम्भा ओरल, डेन्टल एण्ड इम्प्लान्ट केयर, वीरगञ्ज मा कन्सल्ट्यान्ट डेन्टल सर्जन, पेरियोडोन्टिस्ट र ओरल इम्प्लान्टोलोजिस्ट को रूपमा काम गरिरहेका छन्। साथै, उनी नेशनल मेडिकल कलेज मा असिस्टेन्ट प्रोफेसर (डेन्टिस्ट्री: पेरियोडोन्टोलोजी र ओरल इम्प्लान्टोलोजी) को रूपमा कार्यरत छन्।)