काठमाडौं- सन् १८१६ मा आविष्कार भएको परम्परागत स्टेथोस्कोप दुई सय वर्षभन्दा बढी समयदेखि चिकित्सकहरूको प्रमुख उपकरण बनेको छ। तर अब इम्पेरियल कलेज लण्डन र इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्तासहितको नयाँ पुस्ताको स्टेथोस्कोप विकास गरेका छन्, जसले १५ सेकेन्डमै मुटु सम्बन्धी तीन गम्भीर रोग पत्ता लगाउन सक्ने दाबी गरिएको छ।
उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ। उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) पनि लिन्छ।
यस प्राविधिक उपलब्धि स्पेनको म्याड्रिडमा सम्पन्न युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो।
परीक्षणमा सफल
करिब १२ हजार बिरामीलाई सहभागी गराएर बेलायतभरका २०० भन्दा बढी जीपी (सामान्य चिकित्सक) क्लिनिकमा परीक्षण गरिएको थियो।
नयाँ प्रविधि प्रयोग गरेर जाँच गरिएका बिरामीहरूमा हर्ट फेल्योर पत्ता लाग्ने सम्भावना दुई गुणा बढी देखिएको अनुसन्धानकर्ताले बताएका छन्। अट्रियल फिब्रिलेसन पत्ता लाग्ने सम्भावना तीन गुणासम्म बढेको छ भने मुटुको भल्भ बिग्रिने रोग पहिचान हुने सम्भावना पनि करिब दुई गुणाले बढेको छ।
विशेषज्ञको भनाइ
इम्पेरियल कलेज लण्डनका डा. पाट्रिक बैश्टिगरले भने, '२०० वर्षदेखि स्टेथोस्कोपको डिजाइनमा खासै परिवर्तन भएको थिएन। अहिले भने १५ सेकेन्डमै एआईबाट नतिजा दिने स्मार्ट स्टेथोस्कोप आएसँगै ठूलो प्रगति भएको छ।'
अमेरिकी कम्पनी इको हेल्थले निर्माण गरेको यो उपकरण खेलको पत्ताजति आकारको छ। बिरामीको छातीमा राखेर मुटुको ध्वनि र धड्कन रेकर्ड गर्ने यो उपकरणले संकलित डाटा क्लाउडमा पठाउँछ, जसलाई एआईले विश्लेषण गरेर सम्भावित जोखिमको नतिजा स्मार्टफोनमा फर्काउँछ।
यद्यपि, अनुसन्धानकर्ताले यसलाई शंका लागेका बिरामीहरूमा मात्र प्रयोग गर्न सुझाव दिएका छन्, किनकि गलत नतिजा आउने जोखिम पनि रहन्छ।
भविष्यको सम्भावना
ब्रिटिश हर्ट फाउन्डेसनका डा. सोन्या बाबु-नारायणका अनुसार अझै चाँडो रोग पहिचान गर्न सकिने भएकाले बिरामीले समयमै उपचार पाउनेछन् र लामो समयसम्म स्वस्थ जीवन जिउन सक्नेछन्।
त्यसैगरी, एनआईएचआरका प्रोफेसर माइक लुइसले भने, 'यो उपकरणले स्थानीय चिकित्सकलाई समुदायमै समस्या पत्ता लगाउन सघाउँछ। यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो ‘गेम चेन्जर’का रूपमा लिन सकिन्छ।'