चाडपर्व आउँदा हाम्रो मनमा अनेक किसिमका उतारचढाव आउँछन्। आहार, बिहार, विचार र व्यवहारमा फरकपन महसुस हुनु हाम्रो मौलिक पर्वहरूको विशेषता हो, र यसले हामीभित्र खुशीको प्रभाव पनि ल्याउँछ।
दसैँ-तिहार जस्ता रमाइला पर्वहरूले विशेषगरी बालबालिकामा उत्साह थप्छन् भने वयस्कहरूका लागि भेटघाट, दुख-सुखको आदानप्रदान, टीका–आशीर्वाद ग्रहण, उच्च मनोबलको कामना, जमरा धारण गर्दै सधैं स्वस्थ रहोस् भन्ने शुभेच्छा आदानप्रदान गर्ने मौलिकता स्थापित भइसकेको छ।
तर पछिल्ला दिनमा हाम्रो पर्व मनाउने तरिकामा केही परिवर्तनहरू देखिँदै गएका छन्। माछा–मासु अनिवार्य हुनुपर्ने, बोतलमा प्याकिङ भएका चिसा पेय (कोक, फेन्टा) वा सकेसम्म रक्सी–बियर चाहिने, पैसा नभए पनि ऋण गरेर बोकाखसी काट्नै पर्ने, जङ्क फुड वा फ्राइ खानेकुरा अनिवार्य बन्नु, के यी नै हाम्रा मौलिक पर्वहरूको विशेषता हुन्? धेरैलाई मद्यपानसँगै जुवातास पनि खेल्नैपर्छ भन्ने लाग्छ।
यस्ता सामान्य देखिने तर व्यवहारमै गहिरो असर पार्ने गतिविधिले हाम्रो आहार–बिहार असन्तुलित बनाउन सक्छ। आहार–बिहार बिग्रँदा विचारमा पनि विकृति आउँछ, विचार बदलिँदा व्यवहारमा असर पर्छ। जसको परिणाम शारीरिक रूपमा अस्वस्थता, मानसिक रूपमा असन्तोष, सामाजिक रूपमा एक्लोपन र आध्यात्मिक रूपमा शून्यता महसुस हुने अवस्थामा पुग्छौं। यस्ता दिनचर्याले शरीरमा निष्क्रियता ल्याएर रोगको कारण बन्न सक्छ।
त्यसैले हामीले पर्वहरू संयमित र सरल तरिकाले मनाउनुपर्छ। यसरी मात्र चाडपर्वहरूले मनमा उत्साह, परिवारमा आत्मीयता, छर–छिमेकमा भाइचारा र उच्च मनोबलको विकास गराउन सक्छन्।
आहार
माछा–मासु खाँदै गर्दा हरियो सागपात, मुला, मेवा, गाजर जस्ता क्षारीय तत्त्वयुक्त खानेकुराको सन्तुलन कायम गरौं। पेय पदार्थमा दही, मह, लस्सी प्रयोग गर्न नबिर्सौं।
मद्यपान गर्दा परिवार र छरछिमेकमा पर्ने सामाजिक असरलाई विचार गर्नु जरुरी छ। जुवा–तासले शारीरिक निष्क्रियता, मानसिक तनाव र आर्थिक असन्तुलन ल्याउने भएकाले छोटो रमाइलोले पार्ने दीर्घकालीन असरबारे अवश्य सोच्नुपर्छ।
दसैँको एक हप्ताको बिदामा बिहान आधा घण्टा समय व्यवस्थापन गरेर शिव–भजन, कीर्तन, योग, प्राणायाम, ध्यान, हास्य–आसन, नृत्य–आसन तथा सांगीतिक रमाइलोपनमा जोड दिऔं। यसले पारिवारिक माया, सद्भाव बढाउँदै उच्च मनोबल कायम राख्न मद्दत गर्दछ।
विचार सन्तुलनमा राख्दै व्यवहारमा एकरूपता ल्याउन योग अभ्यास भरपर्दो स्रोत हो। यसरी सरल तरिकाबाट पर्व मनाउँदा न त शरीरमा अस्वस्थता आउँछ, न त मनमा नकारात्मक तरंग बढ्छ।
तपाईँको सामाजिक दायित्व नघटोस्, आध्यात्मिक ऊर्जा थपियोस्, स्वस्थ–मस्त–ब्यस्त र सक्रिय जीवनशैली स्थापित होस्। हालैका आन्दोलनले ल्याएको पीडामा मलम लगाउने उच्च मनोबल हामी सबैमा थपियोस्।
आउँदै गरेका सम्पूर्ण चाडपर्वहरूको पावन अवसरमा सबैमा शुभकामना।
(लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय, रुपन्देहीमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक हुन्)