काठमाडौं – सरकारले पर्सा जिल्लाका सबै स्थानीय तह तथा बारा जिल्लाका ६ स्थानीय तहमा हैजाविरुद्धको खोप दिने तयारी गरेको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार बारा र पर्साका १ वर्षभन्दा माथिका व्यक्तिलाई हैजाविरुद्धको खोप दिन लागिएको हो।
उक्त अभियान असोज २६ गतेदेखि पर्सा जिल्लामा र असोज २९ गतेदेखि बारा जिल्लामा १ महिनाका लागि सञ्चालन गर्न लागिएको हो।
पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरू र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूमा सञ्चालन गर्न लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
पर्सा जिल्लाको पूर्वी सिमाना नजिकै रहेका कलैया उप-महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा यो अभियान सञ्चालन गरिनेछ।
गत भदौ ६ गते पर्साको वीरगन्जबाट हैजा फैलिएकोमा हाल बारा र पर्सामा गरी १ हजार ६ सय ८५ हैजाका केश पुष्टि भएको छ।
उक्त हैजा ओवान सेरोग्रुपको रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरिसकेको छ।
हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीका कारण त्यहाँ हुनसक्ने जोखिमको आकलन गरी खोप अभियान सञ्चालन गर्न लागिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल बताउँछन्।
डा. लालका अनुसार हैजा विश्वव्यापी रोग हो। विश्वमा ८१ लाख ७७ हजार हैजाका बिरामी रहेकोमा ९३ हजार ५ सय ४७ जनाको मृत्यु भएको उनी बताउँछन्। अफगानिस्तान, यमन, सुडान विश्वमा नै बढी हैजा प्रभावित देशमा पर्ने गर्छन्। गत वर्ष यमनमा सबैभन्दा बढी हैजाका केशहरू पुष्टि भएको उनले जानकारी दिए। नेपालले हैजा निवारणका लागि राष्ट्रिय योजना नै बनाएर काम गरिरहेको डा. लालको दाबी छ।
खोप अभियानका लागि खोप, खोप सामग्री तथा खोप सेवा सञ्चालन खर्च इन्टरनल कोडिनेसन ग्रुप अन भ्याक्सिन प्रोभिजन मार्फत सहयोग स्वरूप प्राप्त भएको महाशाखाले जनाएको छ।
खोप अभियानका लागि सरकारले २५ लाख व्यवस्थापन खर्च लाग्ने अनुमान गरेको छ। आँकलनअनुसार एक व्यक्तिमा २ सय ६० रुपियाँ लगानी हुनेछ।
सरकारले विद्यालय तथा स्वास्थ्य केन्द्र गरी पर्सामा १८ सयको हाराहारी तथा बारामा १२ सयको हाराहारीमा खोप केन्द्र तोक्ने तयारी गरेको छ। खोप केन्द्रमा नआएकाहरूका लागि घर घरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेर पनि खोप अभियान प्रभावकारी बनाइने डा. लाल बताउँछन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटी खोप अभियान सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको टिमले दशैँ बिदामा समेत काम गरेको बताउँछन्।
हैजा नियन्त्रणको अचुक उपाय नै खोप भएको उनले बताए। अझै बढी नफैलियोस् भन्नका लागि खोप दिन लागिएको उनको दाबी छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठ मधेश प्रदेशमा वर्षापछिको डुबानका कारण पानी तथा कीटजन्य रोगको जोखिम बढेकोले हैजाविरुद्धको खोप अभियान सञ्चालनको आवश्यकता महसुस भएको बताउँछिन्।
हैजा रोग विरुद्धको खोप अभियानबारे बारम्बार सोधिने प्रश्नहरूः
१. हैजा विरुद्धको खोप कस्तो प्रकारको खोप हो ?
हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइने खोप हो। यो खोप सुरक्षित र प्रभावकारी छ। यो खोप तयारी झोलको रूपमा प्लाष्टिकको ट्यूबमा उपलब्ध हुन्छ। यस खोप अभियानको लागि नेपालमा उपलब्ध हुने खोप Euvichol-S (इयूभिकोल–एस) हो। यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो र नेपालको नियामक निकाय औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त छ।
२. यो खोप खान किन जरूरी छ ?
हैजा रोगबाट सुरक्षित हुन यो खोप खान जरूरी हुन्छ। साथै हैजाको महामारी भएका स्थानबाट अन्य स्थानमा यो रोग फैलिनबाट रोक्नको लागि यो खोप खानु पर्दछ।
३. यो खोप कति मात्रा खुवाइन्छ ?
प्रतिकार्य स्वरूप सञ्चालन गरिन लागेको हैजा विरूद्धको खोप यस अभियानमा एकपटक दिइनेछ।
४. हैजा विरुद्धको यो खोप अभियान कहिले सञ्चालन हुँदैछ ?
यो खोप अभियान यही २०८२ साल असोज–कार्तिक महिनामा सञ्चालन हुँदैछ।
५. हैजा विरुद्धको यो खोप अभियान कहाँ सञ्चालन हुँदैछ ?
यो खोप अभियान पर्सा जिल्लाका सबै स्थानीय तहहरू र बारा जिल्लाका कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहहरूमा सञ्चालन हुँदैछ।
६. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरूले खानु पर्दछ। गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन हुन्छ। कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, एच.आई.भी. संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि यो खोप दिनु पर्दछ।
७. नियमित खोप वा अन्य खोपसँगै यो खोप खान हुन्छ कि हुदैन ?
हुन्छ। नियमित खोप तथा अन्य खोपसँगै हैजा विरूद्धको खोप खान हुन्छ।
८. यो खोप कसले खानु हुँदैन ?
यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालिकाले खानु हुदैन। ज्वरो आईरहेको, झाडापखाला भएको वा अन्य कुनै सिकिस्त बिरामी भएको अवस्थामा यो खोप दिनु हुदैन। तर निको भएपछि यो खोप दिनु पर्दछ। विगतमा यो खोप खुवाउँदा वा यो खोपमा भएको कुनै तत्वको कारणले रियाक्सन (प्रतिक्रिया) भएको भए, स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श पछि मात्र यो खोप दिन सकिन्छ।
९. यो खोप लिएपछि के–के असरहरू देखिन सक्छन् ?
यो खोप खाएपछि अत्यन्तै न्यून संख्यामा निम्न सामान्य असरहरू देखिन सक्छन्। र यी असरहरू प्रायः आफै ठीक हुन्छ।
- पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने।
- ज्वरो आउने, टाउको दुख्ने, माँसपेशीहरू दुख्ने, खाना खान मन नलाग्ने, थकाई लाग्ने।
- खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने।
- जिउ चिलाउने।
१०. यो खोप अभियानमा खोप केन्द्र कहाँ कहाँ सञ्चालन गरिन्छ ?
यस खोप अभियानमा निम्न स्थानहरूमा खोप केन्द्र सञ्चालन गरेर हैजा विरूद्धको खोप दिइन्छः
- महानगर/उपमहानगर/नगरपालिका/गाउँपालिका कार्यालय र वडा कार्यालय।
- सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्थाहरू /अस्पतालहरू।
- विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था।
- सरकारी कार्यालय तथा गैरसरकारी संघ–संस्थाका कार्यालय।
- नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र।
- मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका।
- उद्योग, कारखाना, इटा भट्ठा जस्ता अन्य स्थानहरू।
११. खोप सञ्चालन हुँदाको दिन यो खोप लिन छुट भएमा के गर्ने ?
आफूलाई पाएक पर्ने स्थानको खोप केन्द्रबाट खोप लिन छुटेमा नजिकैको अर्को खोप केन्द्रमा गएर यो खोप लिनु पर्दछ।