काठमाडौं - सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउनका लागि सरकारले डिसेम्बर १० देखि १४ मार्चसम्म अभियान सञ्चालन गर्न लागेको हो।
‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले आज आयोजित पत्रकार अन्तरक्रियामा जानकारी दिइन्। जेन्जी आन्दोलनले मानसिक स्वास्थ्यमा परेको गम्भीर असरलाई न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताइन्।
आफूलाई परेको समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनका लागि अभियान सञ्चालनको आवश्यकता रहेको उनको धारणा थियो। अभियानका क्रममा विद्यालय नर्स तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेर विद्यालयस्तरमा नै मानसिक स्वास्थ्य सम्बन्धी सचेतना दिइने उनले जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठन नेपालमा कार्यरत मनोचिकित्सक केदार मरहट्ठाले दैनिक आइपर्ने समस्याको समाधान गर्न सक्नु नै मानसिक स्वास्थ्य भएको बताए। समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित रुपमा बुझिने गरेकोमा यसको बुझाइलाई बृहतर बनाउनुपर्ने उनको भनाई थियो।
स्वास्थ्य सचेतना स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई अन्य क्षेत्रको समेत जिम्मेवारीमा पर्ने उनको जिकिर छ। प्रत्येक १० जनामध्ये १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने उनी बताउँछन्। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको सामान्य मानिसभन्दा १० देखि २० वर्ष पहिले नै मृत्यु हुने उनले जानकारी दिए।
सरकारले नेपालमा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्न राष्ट्रिय आत्महत्या नियन्त्रण कार्यक्रम अन्तर्गत ११६६ हेल्पलाइन सेवा समेत सुरु गरिसकेको छ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक डा उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्य सचेतना समुदायस्तरसम्म पुर्याउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। अभियानको लक्षित समूहमा विशेषगरी किशोर किशोरी तथा आम नागरिक रहेको उनले जानकारी दिए।