काठमाडौं - कन्फेडेरेसन अफ मेडिकल एशोसिएसन इन एसिया एण्ड ओसिनिया (सिमाओ) को ३९ औँ साधारण सभा काठमाडौंमा हुने भएको छ।
३५ राष्ट्रका चिकित्सक आवद्ध रहेको एशोसिएसनको साधारण सभा यही मंसिर २६ र २७ गते पहिलो पटक काठमाडौंमा हुने भएको हो। गोकर्ण फरेस्ट रिसोर्टमा बिहान साढे ९ बजेबाट सुरु हुने साधारण सभाको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले उद्घाटन गर्नुहुनेछ।
नेपाल चिकित्सक संघ पनि यस एशोसिएसनमा सदस्यका रुपमा आवद्ध छन्। प्रत्येक वर्ष सदस्य राष्ट्र भेला भई घोषणापत्र जारी गरी त्यसमा भएका निर्णयहरुलाई प्रत्येक देशको मेडिकल एशोसिएसनले कार्यान्वयन गर्ने गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसले प्रत्येक देश, जनता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गरेको उनीहरुको भनाई छ।
३५ भन्दा बढी देशका प्रतिनिधिहरु उपस्थित हुने यस कार्यक्रमले नेपाललाई विश्वमाझ चिनाउन र महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघको विश्वास छ।