काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताएकी छिन्।
मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ कार्यक्रममा मन्त्री गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताइन्।
सरकारले मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्ने कसरत गरिरहेको उनले जानकारी दिइन्। देशको पछिल्लो परिस्थितिले प्रत्येक परिवार मानसिक स्वास्थ्य समस्यामा रहेको उनको भनाई छ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीले मानसिक स्वास्थ्यका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएकोमा उनले धन्यवाद समेत व्यक्त गरिन्। यसअघि स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समावेश गरेपनि कामको गति सुस्त रहेकोले त्यस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको उनको भनाई थियो।
विभिन्न दातृ निकायहरुको प्राथमिकतामा मानसिक स्वास्थ्य परेकोमा उनले खुसी व्यक्त गरिन्। वैदेशिक रोजगारीका क्रममा रहेका केही श्रमिकहरूको मानसिक स्वास्थ्य अवस्था एकदमै नाजुक अवस्थामा रहेको उनले बताईन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूमा मानसिक स्वास्थ्य परामर्शदाताको दरबन्दी एकदमै न्यून रहेको उनको भनाइ थियो। यद्यपि मन्त्रालयले तालिमको व्यवस्था गरी मनोपरामर्श सेवाको कामलाई अगाडि बढाएको उनी बताउँछिन्।
मानसिक स्वास्थ्य मेडिकलको मात्र नभई सामुदायिक विषय पनि भएकोले गाउँ गाउँमा परामर्शदाताहरू खटाएर यसबारे सचेतना फैलाउन सरकारले काम गरिरहेको उनले जानकारी दिईन्।
‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित आजबाट सुरु भएको मानसिक स्वास्थ्य सचेतना अभियान मार्च १४ सम्म सञ्चालन हुनेछ।