मध्यप्रदेश र राजस्थानमा कोडिनयुक्त खोकी सिरप सेवनका कारण अक्टोबर महिनामा धेरै बालबालिकाको मृत्यु भएपछि सुरु भएको जाँचको क्रममा प्रहरीले एक अन्तर्राष्ट्रिय र्याकेट पत्ता लगाएको छ।
उत्तर प्रदेश सरकारले राज्यभरि खोकी सिरपको जाँच सुरु गरेको थियो। यही क्रममा १८ अक्टोबरमा प्रहरीले सोनभद्रमा एउटा ट्रक नियन्त्रणमा लियो।
प्रहरीका अनुसार ट्रकमा चिप्स तथा नमकीनका प्याकेटहरू मुनि कोडिनयुक्त खोकी सिरप लुकाइएका थिए।
यही मुद्दामा ४ नोभेम्बरमा सोनभद्र प्रहरीले गाजियाबाद प्रहरीले सहयोगमा शहरको माछा गोदाम क्षेत्रबाट डेढ लाख बोटल खोकी सिरप बरामद गर्यो।
यस मामिलामा अहिले सम्म राज्यमा १२८ एफआईआर दर्ता भइसकेका छन् र ३२ जनालाई पक्राउ गरिएको छ। उत्तर प्रदेश सरकारले आईजीको नेतृत्वमा एसआईटी गठन गरेर अनुसन्धान अघि बढाएको छ।
के हो कोडिन?
स्वास्थ्य विशेषज्ञका अनुसार कोडिन केही समयका लागि दर्द निवारणका रूपमा प्रयोग गरिन्छ। ओपिओइड रहित औषधिहरूले असर नगरेपछि मात्र यसको प्रयोग गरिन्छ।
लखनउका फिजिसियन डा. दायम रजा भन्छन्, 'कोडिन एक मादक औषधि हो। यो अल्पकालीन ओपिओइड हो, जसको रासायनिक बनावट हेरोइनजस्तै हुन्छ र शरीरमा उस्तै प्रभाव पार्न सक्छ। यसको लत लाग्न सक्छ।'
कोडिन शरीरमा मोरफिनमा परिणत हुन्छ। केही व्यक्तिको शरीरमा यो प्रक्रिया सामान्यभन्दा धेरै छिटो हुन्छ, जसका कारण रगतमा मोरफिनको मात्रा अत्यधिक बढ्न सक्छ र सास फेर्न गाह्रो हुनेजस्ता गम्भीर समस्या उत्पन्न हुन सक्छन्।
युरोपियन मेडिसिन एजेन्सीका अनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि कोडिनयुक्त औषधि प्रयोग निषेधित छ। साथै सास फेर्न समस्या हुने १२–१८ वर्षका किशोरहरूका लागि पनि यसको प्रयोग अनुमति छैन।
उत्तर प्रदेश सरकारको भनाइमा भने राज्यमा यस सिरपका कारण कुनै मृत्यु भएको पुष्टि छैन।
र्याकेट कसरी पत्ता लाग्यो?
अक्टोबरमा सोनभद्रमा चिप्सका प्याकेटमुनि खोकी सिरप लुकाएर सप्लाइ हुँदै गरेको ट्रक समातिएपछि जाँच अगाडि बढ्यो। एफएसडीएकी सचिव रोशन जैकबका अनुसार यो सिरप औषधिका रूपमा होइन, नशाका रूपमा बेचिन थालिएको थियो।
गृह विभागका प्रमुख सचिव संजय प्रसादले एसआईटी गठन भएको र प्रहरीले अभियुक्तहरूको कडी जोड्दै कारबाही अघि बढाइरहेको बताए।
हिमाचल प्रदेश, उत्तराखण्ड, हरियाणा र झारखण्डमा रहेका केही उत्पादन कम्पनी र डिपोहरूमा छापा मारिएको छ। आरोप छ- खोकी सिरपलाई गैरकानूनी रूपमा अन्यत्र डाइभर्ट गरिँदै आएको थियो।
अबसम्म २७९ प्रतिष्ठानको निरीक्षण भइसकेको छ। १२८ एफआईआर दर्ता भएका छन्, ३२ जना अभियुक्त पक्राउ परेका छन्। केही फर्महरूको लाइसेन्स रद्द गर्ने प्रक्रिया जारी छ।
नेपाल–बंगलादेशसम्म सप्लाइ
डीजीपी राजीव कृष्णका अनुसार सहारनपुरका विभोर राणा, वाराणसीका शुभम जायसवाल र सौरभ त्यागी, तीन ठूला सुपर स्टकिस्टमाथि कारबाही भएको छ।
सौरभ त्यागी समूहलाई गिरफ्तार गरेपछि खुलेको तथ्य अनुसार हिमाचल प्रदेशको पोंटा साहिब र बद्दीमा रहेका कारखानाबाट नक्कली लाइसेन्समा सिरप मगाइन्थ्यो।
जाँचमा वाराणसी मुख्य केन्द्र भएको र सप्लाइ चन्दौली, जौनपुर, गाजीपुर, आजमगढ़सम्म फैलिएको पुष्टि भयो।
सोनभद्र जिल्ला मध्यप्रदेश, छत्तीसगढ, झारखण्ड र बिहारसँग जोडिएको भएकाले यहाँबाट नेपाल र बंगलादेशसम्म गैरकानूनी रुपमा ठूलो मात्रामा सिरप पठाइने गरेको प्रहरीको दाबी छ। त्यहाँ यसको मूल्य भारतको तीन गुनासम्म पाउने भएकाले तस्करी बढेको बताइन्छ।
‘भ्रष्टाचारको जीवित उदाहरण’
एसटीएफले अमित सिंह ‘टाटा’लाई समातेपछि बर्खास्त सिपाही आलोक सिंह र स्टकिस्ट शुभम जायसवालको नाम खुल्यो। आलोक सिंह पक्राउ परेका छन्, जबकि शुभम जायसवाल फरार छन्। उनका पिता कोलकाताबाट पक्राउ परेका छन्।
शुभम जायसवाल दुबईमा रहेको जानकारी आएको र उनलाई प्रत्यार्पण प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
पूर्व डीजीपी विक्रम सिंहले यसलाई ‘भ्रष्टाचारको खुल्ला प्रमाण’ बताउँदै निगरानीकर्ताहरूले आर्थिक लाभका लागि आँखा चिम्लिएको सम्भावना भएको टिप्पणी गरे।
राजनीतिक संरक्षणका आरोप
सपा अध्यक्ष अखिलेश यादवले अरौलिया जिल्लामा खोकी सिरप सेवनका कारण भएको भनिएको बालकको मृत्युबारे पोस्ट गर्दै सरकारमाथि प्रश्न उठाए
'अन्य काममा बुलडोजर सक्रिय, तर यहाँ किन मौन?'
यस मुद्दामा केही नेताहरूको नाम सोशल मिडियामा भाइरल भए, जसमा पूर्व सांसद धनञ्जय सिंहको नाम पनि थियो, तर उनले आरोप अस्वीकार गर्दै निष्पक्ष जाँचको माग गरेका छन्।
मध्यप्रदेशमा सेप्टेम्बर–अक्टोबरमा ११ बालबालिकाको र राजस्थानमा ३ बालबालिकाको मृत्यु खोकी सिरपसँग जोडिएको बताइएको थियो।
तर उत्तर प्रदेशमा पक्रिएका सिरपको मुद्दा मध्यप्रदेशसँग जोडिएको दाबी अस्वीकार गरिएको छ।
बीबीसी हिन्दीबाट