काठमाडौं - कन्फेडेरेसन अफ मेडिकल एशोसिएसन इन एसिया एण्ड ओसिनिया (सिमाओ) को ३९ औँ साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ। ३५ राष्ट्रका चिकित्सक आवद्ध रहेको सिमाओको साधारण सभा काठमाडौंमा सुरु भएको हो।
साधारण सभाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले उक्त साधारण सभा नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताईन्। उनले सभाले समग्र स्वास्थ्य क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। यसका लागि पहल गरेकोमा एशोसिएसनमा सदस्यका रुपमा रहेको नेपाल मेडिकल संघलाई धन्यवाद समेत दिईन्।
साधारण सभा अन्य देशको स्वास्थ्य प्रणाली बुझ्ने एक महत्वपूर्ण मञ्च समेत भएको उनले बताइन्। सभा उपलब्धीमूलक हुनेमा आफु विश्वस्त गरेको मन्त्री गौतमले बताईन्।
नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिल बिक्रम कार्कीले प्रत्येक वर्ष उक्त एशोसिएसनका सदस्य राष्ट्रहरु एकै स्थानमा भेला भएर घोषणापत्र जारी गरिने बताए। घोषणापत्रमा समावेश गरिएका विषयहरुलाई प्रत्येक देशले आफ्नो मेडिकल क्षेत्रमा लागु गराउन प्रयास गर्ने उनले जानकारी दिए। यसले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पाने सक्ने उनको धारणा थियो। जारी घोषणा पत्रले आपतकालीन अवस्थामा स्वास्थ्य सेवाका तयारी गर्नमा सहयोग पुग्ने तथा धेरै मानिसहरुको ज्यान जोगाउन सकारात्मक भूमिका खेल्न सक्ने अध्यक्ष कार्कीको धारणा छ।
कार्यक्रमका आयोजक समितिका अध्यक्ष डा लोचन कार्कीले सिमाओ सम्मेलन नेपालमा हुनु गर्वको विषय भएको बताए। यस किसिमको सम्मेलन नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि एउटा अवसर भएको उनको भनाई छ।

स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनहरुबारे सिक्न र जान्न पाउने राम्रो अवसर भएको नेपाल चिकित्सक संघका महासचिव डा सञ्चिव तिवारीले बताए। यस सभाले नेपाल मात्र नभई सम्पूर्ण सदस्य मुलुकका जनता र स्वास्थ्यमा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने सक्ने उनले बताए। उक्त सभा आज र भोलिसम्म सञ्चालन हुनेछ।