काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए), एशिया इन्टरनेशनल युनिभर्सिटी र उज्वेकिस्तानले दुई जना नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
जेहेन्दार तथा आर्थिक अवस्था कम भएका दुई जना नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको हो। चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागेको संघले जनाएको छ।
आवेदनको अन्तिम मिति डिसेम्बर २३ सम्म रहनेछ। परीक्षा चिकित्सा शिक्षा आयोग आधारित प्रश्न मार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा सञ्चालन हुनेछन्।
छात्रवृत्ति पाउने दुई विद्यार्थीले अध्ययन पुरा गरेपछि नेपालमा फर्केर कम्तीमा २ वर्ष स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नुपर्ने संघले जनाएको छ। छात्रवृत्ति पाउने विद्यार्थीको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्नेछ। यस पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न योगदान पुग्ने उनीहरुको विश्वास छ।