काठमाडौं - नेपाल चिकित्सक संघलाई युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्रदान गरिएको छ। युरोपमा नेपाली स्वास्थ्य सेवाकर्मीहरुको समाजले संघलाई काठमाडौंमा एक कार्यक्रमका बीच संघलाई उक्त अवार्ड प्रदान गरेको हो।
यस वर्षको उद्घाटन संस्करणको विजेता भन्दै संघ यो अवार्ड पाउने पहिलो संस्था बनेको छ। संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान समेत प्रदान गरिएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले यस किसिमको अवार्डले काम गर्न थप हौसला मिल्ने गरेको बताएका छन्। अवार्ड पाउनु खुशी र गर्वको कुरा भएको भन्दै उनले चिकित्सक संघ सधै आफ्नो काम र कर्तव्यप्रति जिम्मेवार रहेको बताएका छन्।
यो अवार्ड नेपालमा स्वास्थ्य सेवा सुधारमा योगदान दिने र स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार सुदृढ पार्ने व्यक्तित्व, समूह वा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो। यो अवार्ड हरेक वर्ष प्रदान गरिने समाजले जनाएको छ।