काठमाडौं - नेपालमा मानसिक स्वास्थ्य समस्या नसर्ने रोगको चुनौतीका रुपमा देखा पर्दै गएको विज्ञहरुले बताएका छन्। बद्लिँदो र अस्वस्थकर जीवनशैलीका कारण मानसिक स्वास्थ्य समस्या चुनौतीका रुपमा देखिँदै गएको उनीहरुले बताएका हुन्।
मानिसक रोग विशेष डा केदार मरहठ्ठाले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको मृत्यु अन्यको तुलनामा १० वा २० वर्ष पहिले नै हुने गरेको बताए। विश्व स्वास्थ्य संगठन नेपालमा कार्यरत डा मरहट्ठाले अहिले पनि मानिसहरुले मानसिक स्वास्थ्य समस्यालाई लुकाउने गरेको बताए।
भोक नलाग्ने, कुनै कुराको बढी चिन्ता लाग्ने, निन्द्रा नलाग्ने, एकान्तमा मात्रै बस्न मन लाग्ने, भोक नलाग्ने जस्ता लक्षणहरु देखिए साथीभाई वा आफन्तसँग खुलेर कुरा गर्न उनको सुझाव छ। साथै समस्या बढ्दै गए मानसिक रोग विशेषज्ञसँग परामर्श गर्नुपर्ने उनले बताए।
अर्का मनोचिकित्सक डा प्राडा सरोज ओझा बदलिँदो परिस्थिति, आर्थिक संकट, बेरोजगारी, राजनीतिक अस्थिरता, करिअरमा सोचेजस्तो सफलता नमिल्दा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताउँछन्।
मानसिक स्वास्थ्य समस्याका कारण मानिसहरु आफ्नो काम कर्तव्यबाट टाढा रहने, एकान्तमा बस्न रुचाउने तथा साथीभाईसँग खासै घुलमिल हुन नखोज्ने उनले जानकारी दिए। लामो समयसम्म निन्द्रा नलागे, खानेकुरामा रुचि हराउँदै गए वा मनोविज्ञान कमजोर भए मनोचिकित्सकसँगको परामर्श जानुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम सरकारले मानसिक स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछिन्। उनले मानसिक स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य मन्त्रालयले बजेट बढाउनका लागि स्रोत खोजिरहेको जानकारी दिईन्।
शारीरिक स्वास्थ्यमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा खासै काम नभएकोले यसलाई प्राथमिकतामा राखिएको उनको जिकिर छ। यसअघि स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्यका कार्यक्रमलाई समावेश गरे पनि कामको गति सुस्त रहेकोमा आगामी दिनमा प्राथमिकतामा राखिने उनी बताउँछिन्। स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुमा मानसिक स्वास्थ्य परामर्शदाताको दरबन्दी एकदमै न्युन रहेकोले स्वास्थ्यमहरुलाई मनोपरामर्श सम्बन्धि तालिम दिइने मन्त्री गौतमले जानकारी दिईन्।
यस्तै, मानसिक स्वास्थ्य समस्यालाई कुनै व्यक्तिले कमजोरीको रुपमा नभई सहज रुपमा नै लिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा बताउँछन्। मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य जतिकै प्राथमिकतामा राख्न उनको सुझाव छ।
मानसिक स्वास्थ्य समस्या आत्महत्याको एक प्रमुख कारण भएको उनी बताउँछन्। हरेक दिन नेपालमा मानसिक स्वास्थ्य समस्याका कारण १९ जनाले आत्महत्या गर्नु दुखद् रहेको बताउँदै उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले मनोचिकित्सकसँग परामर्शमा जान संकोच नमान्न सुझाव दिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०२० मा गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण गरेको थियो। जसमा नेपालमा प्रत्येक १० जनामध्ये १ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको थियो।
उक्त सर्वेक्षण अनुसार नेपालमा १० प्रतिशत मानिसहरु वयस्क अवस्थामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्यामा रहनेछन्। सोही तथ्यांकमा ५ प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरुमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको पाइएको थियो।