काठमाडौं - सरकारले ३ लाख बढी किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी सरकारले एचपिभी खोप दिन लागेको हो।
फागुनको पहिलो सातादेखि उक्त खोप अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
खोप अभियान बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले प्रत्येक वर्ष नीति तथा कार्यक्रममा एचपिभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने बताइएपनि हालै मात्र समावेश गरिएको बताए।
पाठेघरको मुखको क्यान्सर नियन्त्रण तथा निवारण गर्न यो खोप दिन लागिएको उनले जानकारी दिए। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा एचपिभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको उनले बताए । खोप कार्यक्रममा नेपालले सन् २०३० को लक्ष्य पुरा गरिसकेको तथा पूर्ण खोप सुनिश्चित अवस्था रहेपनि त्यसको निरन्तरतामा भने चुनौती छ।
यस्तै, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सरकारले १४ रोगका लागि २१ मात्रा दिने गरेको छ। त्यस अन्तर्गत सबैभन्दा बढी झाडापखाला र निमोनिया विरुद्धको खोप दिने गरिएको पनि उनले जानकारी दिए। उक्त खोप सरकारले १९ हजार वटा खोप केन्द्रबाट खोप दिँदै आएको छ।
गत वर्ष सरकारले सञ्चालन गरेको एचपिभी खोपको कभरेज ९० प्रतिशत भन्दा बढी थियो। नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको रहेको छ। नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक औसतमा ४ जनाको मृत्युु हुने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
नेपालमा हरेक वर्ष २१ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान रहेको डा गौतमले बताए। यस्तै हरेक वर्ष १३ सय १३ जना महिलाको यो रोगका कारण मृत्यु हुने गरेको देखिएको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो।
विश्व स्वास्थ्य संगठनले खोपको गुणस्तर प्रमाणीकरण गरेपछि मात्र खोप प्रयोग योग्य हुने भएकोले बिना संकोच एचपिभी खोप लगाउन विश्व स्वास्थ्य संगठनका डा पवन उपाध्यायले आग्रह गरे। खोप आपूर्ति गर्ने संस्थाले अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता भएको खोप मात्रै आपूर्ति गर्नुपर्ने व्यवस्था रहेकोले एचपिभी खोपबारे गलत बुझाई नराख्न उनले सुझाव छ। कुनै पनि खोपले परीक्षणको चरण पार गर्नका लागि कम्तीमा पनि १० वर्ष भन्दा लामो समय लाग्ने उनले जानकारी दिए।
स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा निर्देशक डा मदनकुमार उपाध्यायले नेपालको खोप कार्यक्रम एक सफल कार्यक्रम अन्तर्गत रहेको बताए। नेपालका सबै जिल्ला तथा स्थानीय तहहरु पूर्ण खोप घोषणा भइसकेपनि निरन्तरता दिन भने चुनौती रहेको उनको धारणा छ। त्यसको निरन्तरताका लागि सरकारको तर्फबाट भने काम भइरहने उनले बताए।