काठमाडौ - नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने पुरानो र एक मात्र सरकारी निकाय हो, सिंहदरबार वैद्यखाना।
२०५२ सालबाट सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा सञ्चालित यो संस्था आफैँमा एक इतिहास र महत्व बोकेको संस्था पनि हो। सरकारकै स्वामित्ममा रहेपनि वैद्यखानाको विकास समय अनुसार हुन नसकेको टिका टिप्पणी बेला बेलामा उठ्ने गर्छ।
राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने लक्ष्यका साथ वैद्यखानाको स्थापना गरिएको हो। त्यो बेला वैद्यखानाले १७५ प्रकारका औषधि उत्पादन गर्दथ्यो। वैद्यखानालाई राजनीतिक गर्ने थलो बनाइएपछि यहाँ समस्या आउन सुरु भएको आयुर्वेद क्षेत्रका विज्ञहरु बताउँछन्।
हाल यो वैद्यखाना आफ्नो लयमा फर्कने प्रयासमा छ। कुनै समय कुनै समय ३ सय प्रतिशतसम्म घाटामा गएको वैद्यखानाले विस्तारै नाफा कमाउन थालेको छ।
उत्पादन बढ्दै जाँदा गत त्रैमासिकमा वैद्यखानाले नाफा कमाएको वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसी बताउँछन्। ९० देखि ९१ लाख बराबरको लागतबाट १ करोड १० लाख बराबरको औषधि बिक्री भएको उनले बताए। उत्पादनको खर्च कटाएर १० देखि १५ लाख नाफामा वैद्यखाना छ। आगाामी तीन त्रैमासिकमा वैद्यखानाले योभन्दा बढी नाफा हुने निर्देशक डा केसीको दाबी छ।
हाल वैद्यखानाले बिहान बेलुका र दिउँसो गरी तीन सत्रमा औषधि उत्पादन गरिरहेको छ। वैद्यखानामा सरकारका विविध सेवाका ३ कर्मचारी, १० सरकारको करार सेवाका तथा ३८ जना विकास समितिका स्थायी कर्मचारी कार्यरत छन्। हाल बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म नै वैद्यखानाले औषधि उत्पादन गरिरहेको छ।
वार्षिक लक्ष्यमा ८६ प्रकारका औषधि उत्पादनको लक्ष्य राखिएको भएपनि हाल वैद्यखानाले ९० प्रकारका औषधि उत्पादन गरिरहेको वैद्यखानाका निर्देशक केसीले बताए।
सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण हुने तथा बजारमा जाने गरेर ९० प्रकारका औषधि उत्पादन भएको हो। जीटुजी खरिद अन्तर्गत २ करोड भन्दा बढीको खरिद आदेश पाएकोमा १ करोड भन्दा बढीको औषधि वैद्यखानाले उपलब्ध गराइसकेको छ। यद्यपि एउटै औषधिमा पनि तौलको आधारमा औषधिको प्रकार निर्धारण गरिएको हुन्छ।
विगतमा उत्पादन ठप्प हुँदा चरम घाटामा
विगतमा वैद्यखाना चरम घाटामा जानुको एक मात्रै कारण थियो, त्यो हो उत्पादन ठप्प हुनु।
आफूले वैद्यखानाको जिम्मेवारी लिँदा कर्मचारीले ८ महिनादेखि तलब खान नपाएको स्थिति रहेको निर्देशक केसी बताउँछन्। यतिसम्म की वैद्यखानाको औषधि उत्पादन करिब ३ वर्षसम्म नै ठप्प भएको थियो। उत्पादन ठप्प हुनुका साथै कर्मचारीको तलब तथा अन्य प्रशासनिक खर्च भने हुने गर्दथ्यो।
त्यो बेला वैद्यखानाले करिब ३ सय प्रतिशतसम्मको घाटा झेल्नु परेको थियो। वैद्यखानाले उत्पादन गर्ने औषधिहरुमा धेरै रुचाइएको च्वनप्राश तथा शिलाजित पनि बजारमा उपलब्ध छ।
यसका साथै त्रिपला चूर्ण, तुलसी चिया, दशमूल तेल, टंकण भष्म जस्ता उत्पादन हाल बजारमा अभाव नरहेको डा केसी बताउँछन्।
उनले भने, ‘वैद्यखानाको पुर्नउत्थान हुनुपर्छ भन्ने चाहना सबैमा छ। यसलाई सुधार गर्नुको विकल्प छैन।’
वैद्यखानाको औषधिको माग उच्च हुँदा धान्नलाई धौँ धौँको स्थिति रहेको उनले बताए।
वैद्यखानाको निश्चित संगठनात्मक आकार आवश्यक
वैद्यखानाको सञ्चालनमा संगठनात्मक त्रुटि रहेको डा केसीको धारणा छ। यसलाई निश्चित संगठनात्मक आकार दिएर त्यसै अनुरुप कर्मचारी नियुक्ति गरिनुपर्ने उनी बताउँछन्।
वैद्यखानाको सञ्चालन सरकारले गर्ने हो भने दरबन्दी सहितको जनशक्तिको व्यवस्था गर्नुपर्ने उनको जिकिर छ। छैटौँ तहका चिकित्सकले २ दशकसम्म पनि पदोन्नती नपाउनु सामान्य देखिएपनि संस्थागत अन्याय भएको डा केसीको ठहर छ। वैद्यखानाको दीर्घकालीन सुधारका लागि यसलाई राजनीतिक चलखेलको थलो बनाउन नहुने डा केसी बताउँछन्।
दीर्घकालीन सुधारका लागि नेतृत्वमा स्थायित्व, कर्मचारी व्यवस्थापनमा न्याय तथा बजेटमा प्रतिबद्धता समेत आवश्यक रहेको उनी बताउँछन्। वैद्यखानाको दीर्घकालीन विकासका लागि नेतृत्व परिवर्तन गर्नुभन्दा पनि प्रणाली बसाउन सक्नुपर्ने डा केसीको धारणा छ।