एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - देशभर अत्यधिक चिसो बढेसँगै सरकारले पूर्वतयारी एवं जोखिम न्यूनीकरणमा जुट्न सबै निकायलाई आग्रह गरेको छ।
विशेषगरी तराई क्षेत्रमा बढ्दै गरेको चिसो तथा शीतलहरबाट बच्नका लागि पूर्वतयारीमा जुट्न गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायलाई आग्रह गरेको हो।
प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरी 'शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२' अनुसार काम गर्न जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह सबैलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले पुस ८ दखि १० गतेसम्मका लागि तराईमा हुस्सु/कुहिरो/शीतलहरको चेतावनी दिएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पार्ने प्राधिकरणले जनाएको छ।
सबै निकायले कार्ययोजना अनुसार पूर्वतयारी गर्नुपर्ने र कार्यक्षेत्रमा पर्ने प्रभावित जिल्लाका जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा पूर्वानुमान अनुसार आवश्यक पूर्वतयारी एवं प्रतिकार्य गनुपर्ने प्राधिकरणले जनाएको छ।
स्थानीय तहले वडा कार्यालय र समुदायमा आधारित संस्था तथा समूहहरु समेतलाई सक्रिय बनाई शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका कामहरु गर्न पनि प्राधिकरणको आग्रह छ। स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा मात्र शीतलहर प्रतिकार्य संभव नभएको अवस्थामा प्रदेश र संघीय सरकारसँग सहयोग गर्न पनि प्राधिकरणले भनेको छ। साथै प्राधिकरणले यी कामहरु तत्काल गर्न पनि अपिल गरेका छः
- न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्रीहरु तयारी अवस्थामा राखी आवश्यक परेको खण्डमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घर परिवारलाई वितरण गर्ने एवं शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य केन्द्रित क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाउने
- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र सोको आधारमा प्राधिकरणबाट जारी हुने सूचना एवं जानकारी अनुसार आवश्यक कदम चाल्न तयारी अवस्थामा रहने
- कार्यक्षेत्र अनुसार शीतलहरबाट बच्ने उपायहरुका बारेमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने
- जोखिमपूर्ण संकटासन्न समुदायका व्यक्तिहरुलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर इत्यादिमा राख्ने प्रबन्ध गर्ने
- शीतलहरका बेला न्यानो गराउने अन्य उपयुक्त विकल्प नभएको खण्डमा सम्बन्धित डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहसँग समन्वय गरी दाउरा उपलब्ध हुने व्यवस्था मिलाउन सहयोग गर्ने
- प्राधिकरण लगायतका निकायबाट शीतलहर सम्बन्धमा उत्पादित सचेतनामूलक श्रव्यदृश्य सामग्रीहरु संचारका संभाव्य सबै माध्यम प्रयोग गरी समुदाय तहसम्म पुग्ने गरी प्रकाशन तथा प्रसारण गर्न सहयोग गर्ने।