काठमाडौं - मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा एक महिनामा देशभर ६ जनाको मृत्यु भएको छ।
मापसे गरी सवारी चलाउँदा मंसिरमा मात्र देशभर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। मापसे गरी कुल २२५ सवारी दुर्घटना हुँदा २९५ जना घाइते भएका छन्।
सबैभन्दा धेरै दुर्घटना, मृत्यु र घाइते लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ ४८ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु र १०७ जना घाइते भएका छन्।
यो संख्या सबैभन्दा कम सुदूरपश्चिममा छ। त्यहाँ ६ सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। यस्तै, कोशी प्रदेशमा ४३ सवारी दुर्घटना हुँदा ५७ जना घाइते, मधेशमा २८ दुर्घटना र ३९ घाइते, बागमतिमा १० वटा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। कोशी, मधेश, बागमति, कर्णाली र सुदूरपश्चिममा कसैको पनि मृत्यु भएको छैन।
गण्डकी प्रदेशमा भने ३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु र ३ घाइते भएका छन्। प्रहरीले काठमाडौं उपत्यकाको तथ्यांकलाई भने छुट्टै राखेको छ। उपत्यकामा मात्र ४८ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु र ५५ घाइते भएको प्रहरीको तथ्यांक छ।