एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - १८ वर्षको कलिलै उमेरमा सिन्धुपाल्चोककी रियाको विवाह भयो। तर विवाह भएको १६ वर्षसम्म पनि उनी आमा बन्न सकिनन्।
सुरुवाती दिनमा अर्को वर्ष सन्तान होला भन्ने उनीमा आशा हुन्थ्यो। तर हरेक पटकको आशा निराशामा परिणत हुँदै गयो। सन्तानको आश गर्दा गर्दै उनको १६ वर्ष बित्यो।
सन्तानको आशामा वर्षौ बितेपछि उनी स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगिन्। परीक्षणका क्रममा थाहा भयो की उनको श्रीमानमा शुक्रकीट नै उत्पादन नहुने समस्या रहेछ। श्रीमानमा शुक्रकीट सम्बन्धी समस्या भएका कारण सन्तान नभएको थाहा पाएपछि उनीहरु धेरै दुखी भए। तर चिकित्सकले उनीहरुलाई दुखको समाधान पनि बताए।
समाधानको उपाय थियो, आइयुआइ अर्थात् पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि।
आइयुआइ विधि मार्फत डोनर बैंक मार्फत रियाको पाठेघरमा शुक्रकीट राखियो र, उनी आमा बन्न सकिन।
दोलखाकी ३८ वर्षीया कान्छीमायाको पनि विवाह भएको ७ वर्षसम्म सन्तान भएन। लामो समयसम्म सन्तान नभएपछि उनी माथि पारिवारिक दबाब निकै बढ्यो। आफ्नै परिवार र आफन्तले अपमान समेत गरे। अझ उनकै श्रीमानले उनकै कारण सन्तान हुन नसकेको आरोप पनि लगाए।
केही उपाय नलागेपछि उनीहरु दुई महिना अघि थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा पुगे। अस्पताल पुगेपछि नै उनीहरुले श्रीमानका कारण सन्तान हुन नसकेका तीतो यथार्थबाट साक्षात्कर भए। श्रीमानको शुक्रकीटको क्षमता कम भएका कारण आफ्नो गर्भ रहन नसकेको उनी बताउँछिन्। चिकित्सकको परामर्शपछि उनीहरु पनि आइयुआइका लागि सहमत भए। र, यही आइयुआइ विधि मार्फत नै उनी आमा पनि बनिन्।
नेपालमा अहिले निःसन्तानपनको समस्या बढ्दो छ। ढिलो विवाह, अस्वस्थकर जीवनशैली, तनावपूर्ण वातावरण लगायतले निःसन्तानपनको समस्यालाई बढाउँदै लगेको चिकित्सकहरु बताउँछन्। तर आधुनिक नवीनतम प्रविधिले सन्तानबाट बञ्चित रहेका दम्पत्तिहरुलाई सन्तानको खुशी दिन सकेको छ।
ती प्रविधि हुन्, आइभीएफ र आइयुआइ।
यही प्रविधि मार्फत सन्तान प्राप्त गर्ने दम्पत्तिहरु पनि बढ्दो क्रममा छ। प्रसूती गृह अस्पतालमा मात्रै गएको १ वर्षमा ५२ जनाले आईभिएफ सेवा लिएका छन्। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार गत वर्ष ५२ जनाले आईभिएफ सेवा लिएका हुन्। हाल मासिक रुपमा ८ देखि १० वटा आइभिएफ हुने गरेको उनले जानकारी दिए।
उनले भने, ‘गत वर्ष ५२ जनाले लिएको यो सेवालाई बढाउँछौ। यस वर्ष ७० देखि ८० जनालाई आइभिएफ सेवा दिने लक्ष्य राखेका छौँ।’
प्रसूती गृहमा आइभिएफ सेवा लिन चाहने सेवाग्राहीले औषधि बाहेक सेवा शुल्क ३७ हजार तिर्नुपर्ने हुन्छ। निजी आइभिएफ केन्द्रमा जस्तै औषधि भने बिरामी आफैँले किन्ने गर्छन्। सरकारी अस्पतालहरुमध्ये आइभिएफ सेवा पूर्ण रुपमा सञ्चालनमा भएको अस्पताल प्रसूती गृह मात्रै हो। कोशी, नारायणी र भरतपुर अस्पतालमा भने यो सेवा आंशिक रुपमा सञ्चालनमा छ।
प्रसूती गृहमा २०६३ सालदेखि आईभिएफ सेवा सञ्चालनमा आएको हो। सेवाको गुणस्तर पनि निजी अस्पतालको भन्दा धेरै राम्रो रहेको निर्देशक डा अधिकारीको दाबी छ।
नेपालमा आईभिएफ सुरुवात भएको दुई दशक भइसकेको छ। स्वास्थ्य मन्त्रालयमा २८ वटा आईभिएफ सेन्टर दर्ता छन्। हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।
के हो आइभीएफ र आइयुआइ प्रविधि
आइभीएफ (इन भिट्रो फर्टिलाइजेशन) प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि पाठेघरभित्र राखिन्छ।
ढिलो बच्चा जन्माउने, बच्चा बस्ने नली बन्द भएमा, प्राकृतिक तरिकाले बच्चा नबसे, आइयूआइ धेरै पटक असफल भएमा, शुक्रकीटको मोर्टलिटी कम भएमा आइभीएफ प्रक्रियाबाट बच्चा जन्माउन सकिने डा अधिकारीले जानकारी दिए।
निःसन्तानपनको ९० प्रतिशत समस्या जीवनशैली सुधार गरेमा समाधान हुन सक्ने अधिकारीको दाबी छ। निःसन्तानपनकोे समस्या भएका करिब ९० प्रतिशतले चिकित्सकको सल्लाह अनुसार सामान्य उपचार, खानपिनमा परिवर्तन, शारीरिक व्यायामको माध्यमबाट पनि बच्चा जन्माउन सक्ने उनी बताउँछन्।
पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि नै आइयुआइ (इन्ट्रा यूटेरिन इन्सेमिनेशन) हो। उमेर बढ्दै जाँदा महिलाको अण्डा समयमा नबन्ने भएकामा अण्डा बन्ने औषधिहरू दिने, शुक्रकीटको मात्रा कम भएकाहरूको शुक्रकिटलाई सफा गरेर स्वस्थ शुक्रकीटलाई पाठेघरमा राख्ने विधिलाई आइयुआइ भन्ने गरिन्छ। यो विधि आइभिएफ भन्दा सस्तो र सरल हुन्छ।