अटिज्म भन्नाले मस्तिष्कको असाधारण अवस्था हो। यो मस्तिष्कको एउटा विशेष अवस्था मात्र हो। अटिज्म एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिज्म भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए तापनि सामाजिक सिप, सञ्चारसम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिज्म बालबालिकाको मस्तिष्क विकासको क्रममा देखिने समस्या हो भन्ने बुझ्नुपर्छ।
अटिज्म स्नायु तथा नसाको विकासमा आउने ह्रासका कारण उत्पन्न हुने समस्या हो। यो जन्मजात नस तथा तन्तुको विकास क्रममा आएको असमानताको एउटा रूप हो। अटिज्मलाई न्युरो–डेभलपमेन्ट डिसअर्डर वा अटिज्म स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ।
विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानका आधारमा १०० जना बालबालिकामध्ये १ जनामा अटिज्म देखिन्छ। सीडीसीको २०२२ को रिपोर्ट अनुसार ३६ जना बालबालिकामध्ये १ जनामा अटिज्म पाइन्छ। साथै पुरुष र महिलाको अनुपात ४.१ : १ रहेको छ। हाल नेपालको सन्दर्भमा २ लाख ५० हजारदेखि ३ लाखभन्दा बढी बालबालिकामा अटिज्म भएको अनुमान गरिएको छ। २०२२ को तथ्याङ्क अनुसार ३६५ जना बालबालिकामा अटिज्म निदान भएको छ। अझ चिन्ताजनक अवस्था के छ भने विश्वमा हरेक २० मिनेटमा १ जनामा अटिज्मको केस निदान भइरहेको तथ्याङ्क पाइन्छ।
अटिज्म हुनुको कारण :
यस विषयमा भएका विभिन्न अध्ययन तथा अनुसन्धानहरूले यसको वास्तविक कारण यही हो भनेर किटानीका साथ भन्न सकेका छैनन्। अटिज्म मूलतः ८० प्रतिशत वंशाणुगत गुणको प्रभावका कारण हुने मानिन्छ।
अन्य कारणहरूमा दम्पतीले ३५ वर्षभन्दा माथिको उमेरमा बच्चा जन्माउनु, २६ हप्ताभन्दा कम अवधिमा बच्चा जन्मिनु, कम तौल भएका बच्चा जन्मिनु, नवजात अवस्थामा विभिन्न प्रकारका रोगको संक्रमण हुनु, एउटा बच्चा र अर्को बच्चाबीचको जन्मान्तर कम हुनु आदि कारणले पनि अटिज्म हुन सक्छ।
अटिज्मका सामान्य लक्षण तथा चिन्हहरू :
बच्चा एक्लै खेल्न मन पराउने, आँखामा आँखा जुधाउन नसक्ने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफ्नै उमेरका साथीहरूसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुनु वा सामान्य दुखाइ हुँदा अत्यधिक चिच्याएर रुने, सांकेतिक भाषाको प्रयोग गर्न नसक्ने, उमेरअनुसार बौद्धिक क्षमता नदेखिने, ठूलो आवाज सुन्दा कान थुन्ने वा झर्किएको जस्तो व्यवहार देखाउने, एउटै खेलौना मात्र खेलिरहने, सामान्य शिक्षण विधिबाट पठन–पाठन गर्न नसक्ने, केही कुरा कम हुँदा बढी भएको र बढी हुँदा कम भएको महसुस गर्ने व्यवहार देखिनु आदि लक्षणहरू देखापर्छन्।
अटिज्म भएको वा नभएको कहिले शंका गर्ने :
अटिज्म मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मपछि २ वर्षभित्र आमा वा अभिभावकसँग कुनै पनि प्रकारको सञ्चार गर्न नसकेमा अटिज्मको शंका गर्न सकिन्छ। बालबालिकाले उमेरअनुसारका गतिविधि नगरेको वा असामान्य व्यवहार देखाएमा अटिज्म हुन सक्छ। समयमै पहिचान गर्न सके यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ।
अटिज्मको पहिचान कसरी गर्ने :
अटिज्ममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफैँले पनि नबुझ्ने, एउटै कुरा दोहोर्याइरहने जस्ता व्यवहार देखिन्छन्।
इन्द्रियहरूको उतारचढावका कारण अटिज्म भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति फरक किसिमको प्रतिक्रिया देखाउँछन्। बालबालिका जन्मिएदेखि करिब २ वर्षसम्म यसका लक्षण प्रस्ट देखिन गाह्रो हुन्छ। शारीरिक रूपमा धेरैजसो फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको कुरा अभिभावकले ढिलो मात्र महसुस गर्छन्। धेरैजसो बालबालिकामा स्कुल गएपछि मात्र यो समस्याको पहिचान हुने गर्दछ।
अटिज्मका प्रकारलाई अवस्थाका आधारमा हाइपर, लो–हाइपर वा ग्रेड १, ग्रेड २ र ग्रेड ३ गरी वर्गीकरण गर्न सकिन्छ। यस्ता बालबालिका प्रकाश, गन्ध, स्वाद र आवाजप्रति अत्यधिक वा अत्यन्तै कम संवेदनशील हुन सक्छन्।
अटिज्म हुन नदिन यी कार्यहरूमा ध्यान दिन आवश्यक पर्दछ :
गर्भधारणदेखि जन्मसम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट, विशेष गरी फोलिक एसिड सेवन गर्ने। बालबालिकालाई पर्याप्त समय दिने। रचनात्मक गतिविधिमा संलग्न गराउने। बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह लिने।
जति चाँडो बच्चाको अवस्था थाहा हुन्छ, त्यति नै छिटो सञ्चारमा सुधार ल्याउन सकिन्छ। थेरापीको माध्यमबाट सञ्चार प्रक्रियालाई सहज र सक्रिय बनाउन सकिन्छ। यसका लागि बच्चाभन्दा पहिले अभिभावकले थेरापीबारे बुझ्न आवश्यक हुन्छ। यस कार्यमा अटिज्म केन्द्रहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ।
यसको उपचार पद्धति यस प्रकारको छ :
अटिज्मको मुख्य उपचार भनेको थेरापी नै हो। समयमै पहिचान गरी बिहेभियर थेरापी दिनु नै यसको सबैभन्दा महत्वपूर्ण उपचार हो। अटिज्म भएका बालबालिकालाई सञ्चार, सामाजिक व्यवहार र दैनिक सीप विकासका लागि विभिन्न थेरापी तथा खेलको माध्यम प्रयोग गर्न सकिन्छ।
बालबालिकाका प्रमुख गुरु आमा–बाबा तथा अभिभावक नै हुन्। अभिभावकले सबैभन्दा बढी समय बच्चासँग बिताउने भएकाले उनीहरूलाई बिहेभियर थेरापीसम्बन्धी तालिम दिन आवश्यक हुन्छ। अभिभावकले घरमै विभिन्न परिस्थितिअनुसार खेल खेलाउँदै थेरापी दिनुपर्छ।
अटिज्म भएका बालबालिकालाई बौद्धिक रूपमा सक्षम बनाउन र आत्मनिर्भर बनाउन थेरापीमार्फत अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। हरेक स्थानीय तहले यसको व्यवस्थापनका लागि रणनीतिक योजना तयार गरी अभिमुखीकरण तथा व्यवस्थापकीय कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र प्रभावकारी व्यवस्थापन सम्भव हुन्छ।