काठमाडौं - स्वास्थ्य तथा जनसंसख्या मन्त्री डा सुधा शर्माले राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ परिमार्जन हुने बताएकी छिन्।
स्वास्थ्य पत्रकार मञ्चको आयोजना र कोशिस नेपालको सहकार्यमा भएको मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री शर्माले यस्तो बताएकी हुन्।
मन्त्री शर्माले मानसिक स्वास्थ्यको विषयमा अदालतको परमादेश राखेर सरकारको सबै निकायलाई घचघच्याउँने बताइन्। मनोविमर्शकर्ताले नै समाजमा धेरै समस्या समाधान गर्न सक्ने भएकाले मनोचिकित्सकलाई गाउँमा भन्दा अस्पतालमा नै राख्न आवश्यक रहको उनले बताइन्। साथै योग, ध्यान, झारफुक पनि मानसिक समस्याका लागि समाधान हुन सक्ने उनले बताइन्। यस विषयलाई सकारात्मक तरिकाले प्रयोग गर्न सकिने उनको भनाई थियो ।
मानसिक स्वास्थ्यको अभियान मात्रै नभई अभियानसँगै सेवा विस्तार र सुदृढ गरिरहेको उनले बताइन्। यो तत्काल सकिने विषय नभएकाले क्रमश गर्दै जाने काम भएको उनको भनाई थियो।