काठमाडौं - अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता समिति गठन गरेको छ।
विभिन्न माग राखी अनसनमा रहेका डा भुसालको समूहसँग वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो।
समितिमा पौडेल सहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल सदस्य रहेका छन्।
केही दिनदेखि अनसनमा रहेका डा भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई नेपाल चिकित्सक संघको पहलमा बुधबार वीर अस्पतालमा भर्ना गरिएको छ।