काठमाडौं - गर्मी मौसममा पसिना बगाउँदै हरेक कदम कदममा हामी पानी पिउने गर्छौ। घरबाट निस्कदा होस् या कतै जाँदा हामीसँग पानीको बोतल साथ हुने गर्छ।
तर चिसो मौसम आउनासाथ यो व्यवहारमा केही परिवर्तन आउँछ। बाक्लो कपडासँगै चिसाको चुस्कीमा हामी बढी रमाउन थाल्छौ र, पानीको बोतल हामीबाट केही टाढा हुन पुग्छ।
तर के तपाईले याद गर्नु भएको छ ? चिसो मौसममा हाम्रो प्यास कसरी गायब हुन्छ ? जबकी चिसोमा झन् शरीरलाई पानीको आवश्यकता बढी पर्ने चिकित्सकहरु बताउँछन्। चिसोमा किन कम प्यास लाग्छ ? शरीरमा पानीको मात्रा कम हुँदा के कस्तो नोक्सान हुन्छ ? आज पनि यही विषयमा जानकारी दिँदैछौ।
जाडोयाममा पनि शरीरलाई गर्मीमा जत्तिकै पानीको आवश्यक
दिल्लीको राम मनोहर लोहिया अस्पतालको मेडिसिन विभागका निर्देशक डा. पुलिन कुमार गुप्ता भन्छन्, ‘चिसो मौसममा तिर्खा धेरै कम महसुस हुन्छ। पसिना निकै कम आउने भएकाले शरीरलाई पानीको आवश्यकता पनि कम भएको जस्तो लाग्छ।’
धेरै मानिसहरु विशेषगरी वृद्धवृद्धा, कार्यालय जानेहरु बारम्बार शौचालय जानुपर्ने झन्झटका कारण पनि कम पानी पिउने गरेको उनी बताउँछन्।
उनका अनुसार, ‘वैज्ञानिक रुपमा प्रमाणित तथ्य के हो भने जाडोयाममा पनि शरीरलाई गर्मीयाममा जत्तिकै मात्रामा पानी आवश्यक हुन्छ। जाडोमा मिर्गौलाले पिसाबमार्फत बढी पानी बाहिर निकाल्छ। साथै घर र अफिसमा चलाइने हिटर, ड्रायर तथा इनडोर हीटिङ प्रणालीले हावालाई अत्यन्तै सुख्खा बनाइदिन्छ, जसका कारण छाला र श्वासप्रश्वासको मार्गबाट पानीको नोक्सानी अझ बढी हुन्छ।’
सन् २०१९ मा अमेरिकन हार्ट एसोसिएसनले गरेको एक अनुसन्धान अनुसार, लामो समयसम्म कम पानी पिउने व्यक्तिहरूमा मिर्गौलाको दीर्घकालीन रोग, पत्थरी तथा मूत्रमार्ग संक्रमण (यूटीआई) हुने जोखिम बढी हुन्छ।
वेलनेस थेरापिस्ट, डाइटिसियन तथा मेटामोर्फोसिस (वेलनेस प्लेटफर्म) की सीईओ दिव्या प्रकाश भन्छिन्, ‘जब चिसो बढ्छ, शरीरले ताप जोगाउन पीबीभी (पेरिफेरल ब्लड भेसल) अर्थात् बाहिरी रक्तनलीहरूलाई संकुचित गर्छ।’
उनी थप्छिन्, ‘यसका कारण केन्द्रीय रक्तको मात्रा बढ्छ र शरीरलाई सबै कुरा ठीक छ, पानीको कमी छैन भन्ने अनुभूति हुन्छ। यसले गर्दा तिर्खा लाग्ने अनुभूति करिब ४० प्रतिशतसम्म कम हुन सक्छ। तर शरीरलाई आवश्यक पर्ने आधारभूत पानीको मात्रा मौसमले असर गर्दैन, यो सधैं करिब २.५ देखि ३.५ लिटरसम्म नै रहन्छ।’
कम पानी पिउँदाको नोक्सान
हाम्रो शरीरको करिब ६० प्रतिशत भाग पानीबाट बनेको हुन्छ। डा पुलिन कुमार गुप्ताले यो पानी रगतमा उपस्थित हुने र रगतकै माध्यमबाट अक्सिजन, पोषक तत्व तथा अन्य आवश्यक पदार्थहरु शरीरका सबै कोषिकासम्म पुग्ने गरेको बताउँछन्।
उनका अनुसार जब शरीरमा पानीको मात्रा कम हुन्छ, तब रगत बाक्लो हुन्छ। यसले ब्रेन स्ट्रोक र हार्ट अट्याकको जोखिम निकै बढाउँछ। विशेषगरी जाडोयाममा यो जोखिम अझ बढी देखिन्छ। बाक्लो रगत पम्प गर्न मुटुलाई बढी मेहनत गर्नुपर्छ, जसका कारण रक्तचाप बढ्न सक्छ।
शरीरमा पानी कम हुँदा नसाहरू संकुचित हुन्छन्, जसले ब्रेन हेमरेजको खतरा पनि बढाउँछ। यसले मिर्गौलामा दबाब पर्छ र पत्थरी बन्ने जोखिम धेरै बढ्ने उनले बताए।
डाक्टरहरुका अनुसार कम पानी पिउँदा पाचन प्रणाली प्रभावित हुन्छ र कब्जियत, अपचजस्ता समस्या देखा पर्छन्। त्यसैगरी लामो समयसम्म कम पानी पिउँदा थकान, टाउको दुख्ने, चक्कर लाग्ने, छाला सुख्खा हुनेजस्ता समस्या सुरु हुन थाल्छन्। प्रायः बेवास्ता गरिने पानीको कमीका प्रारम्भिक संकेतहरु हाम्रो शरीरले नै दिन्छ।
सबैभन्दा बढी जोखिममा को ?
डा. अनु अग्रवालका अनुसार बढी तनाव सहन नसक्ने मानिसहरु, जस्तै वृद्धवृद्धा, उच्च रक्तचाप र मधुमेहका बिरामी, मुटुको शल्यक्रिया गराएका, वा रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्तिहरुमा कम पानी पिउँदा जोखिम अझ बढी हुन्छ।
महिलाहरुमा विभिन्न उमेर समूह अनुसार कम पानी पिउँदाको असर फरक–फरक रूपमा देखिन्छ। किशोरी र मध्यम उमेर (४० वर्षसम्म) का महिलाहरूमा पहिल्यै हार्मोनल परिवर्तन भइरहेका हुन्छन्। महिनावारीका बेला रगत बग्दा शरीर डिहाइड्रेट हुन्छ। यसले महिनावारीको दुखाइ बढ्नुका साथै ग्यास र ब्लोटिङजस्ता समस्या पनि बढी देखिन सक्ने उनी बताउँछिन्।
उनी भन्छिन्, ‘पानी कम पिउँदा रक्तप्रवाह घट्छ र शरीरमा टक्सिनहरू जम्मा हुन थाल्छन्, जसका कारण रगत जम्ने (क्लट) समस्या देखिन सक्छ। साथै एस्ट्रोजन, थाइराइडजस्ता हार्मोनहरुको वहन र कार्यक्षमता पानीमै निर्भर हुन्छ। पानीको कमीले हार्मोनल असन्तुलन बढेर मुड स्विङ्स, अनियमित महिनावारीजस्ता समस्या बढ्न सक्छन्।’
पानी पिउने सही तरिका
हरेक व्यक्तिले जाडो र गर्मी दुवै मौसममा दिनमा साढे २ देखि ३ लिटर पानी पिउनुपर्ने डा अग्रवाल सल्लाह दिन्छिन्। उनका अनुसार यदि २५० मिलिलिटरको एक गिलास मानेर हिसाब गर्ने हो भने, दिनमा करिब १०–१२ गिलास पानी पिउनु उपयुक्त हुन्छ।
पानी पिउने सही तरिकाबारे उनी बुँदागत रुपमा प्रस्तुत गर्छिन् :
जाडोयाममा बिहान उठेपछि पहिलो २–३ घण्टाभित्र बिस्तारै २–४ गिलास पानी पिउनुहोस्।
दिनभर आवश्यक पर्ने पानीको मात्रा बेलुका ५ बजेसम्म पूरा गर्ने प्रयास गर्नुहोस्, जसले सुत्ने चक्र (स्लीप साइकल) बिग्रन दिँदैन।
बेलुका धेरै पानी पिउँदा राति मिर्गौलाको फिल्ट्रेसन प्रक्रिया बढ्छ, जसका कारण बारम्बार पिसाब लाग्छ र निद्रा अवरुद्ध हुन्छ।
५ बजेपछि पनि थोरै पानी पिउन सकिन्छ (जस्तै, डिनरसँग वा डिनरपछि), तर धेरै मात्रामा होइन।
दिव्या प्रकाश भन्छिन्, ‘जाडोयाममा धेरै मानिसहरुले पानीको सट्टा चिया, कफी, सुप वा अत्यधिक तातो पानी पिउने बानी बनाउँछन्। तर धेरै तातो पानी (५०–६० डिग्री सेल्सियस वा त्योभन्दा बढी) पिउनु ठीक हुँदैन। किनकि हाम्रो शरीरको सामान्य तापक्रम करिब ३७ डिग्री सेल्सियस हुन्छ। त्यसैले सही तरिका भनेको मनतातो पानी पिउनु हो। मनतातो पानी शरीरका लागि सबैभन्दा उपयुक्त हुन्छ र सजिलै अवशोषित पनि हुन्छ।’
- बीबीसी हिन्दीबाट साभार