मुटु सम्बन्धी रोगको जोखिम नेपालमा दिनानुदिन बढ्दै गएको छ। जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, धूम्रपान, मदिरा सेवन, उच्च रक्तचाप र मधुमेहजस्ता समस्याका कारण मुटु रोग अब शहरी क्षेत्रमा मात्र सीमित छैन, गाउँ–दुर्गम भेगसम्म फैलँदै गएको छ। यस्तो अवस्थामा ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) परीक्षण आजको समयको सबैभन्दा सरल, सुरक्षित र भरपर्दो जाँचका रूपमा स्थापित भएको छ।
चिकित्सकहरूका अनुसार ईसीजी परीक्षणले मुटुको विद्युतीय गतिविधिको मूल्यांकन गरी धेरै गम्भीर समस्या समयमै पत्ता लगाउन सहयोग गर्छ। ईसीजी भनेको मुटुको धड्कनसँग सम्बन्धित विद्युतीय संकेतहरू रेकर्ड गर्ने परीक्षण हो। यो परीक्षण हात, खुट्टा र छातीको छालामा साना इलेक्ट्रोड टाँसेर गरिन्छ, जसले मुटुबाट उत्पन्न हुने विद्युतीय तरंगलाई कागज वा स्क्रिनमा ग्राफका रूपमा देखाउँछ। परीक्षण पूर्ण रूपमा पीडारहित हुन्छ र केही मिनेटमै सम्पन्न हुन्छ।
विशेषज्ञहरूका अनुसार छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन अनियमित हुने, चक्कर लाग्ने वा अचानक बेहोस हुने जस्ता लक्षण देखिएमा ईसीजी परीक्षण अत्यावश्यक हुन्छ। साथै उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा दीर्घकालीन मुटु रोग भएका बिरामीका लागि नियमित ईसीजी जाँच सिफारिस गरिन्छ।
ईसीजी रिपोर्टबाट मुटुको लय, धड्कनको गति, मुटुको मांसपेशीमा रगतको आपूर्ति, तथा विद्युतीय प्रवाहमा आएको अवरोधको स्पष्ट जानकारी प्राप्त हुन्छ। यसले हर्ट अट्याक, आर्थिमिया, हर्ट ब्लक, आर्टियल फाइब्रलेसनजस्ता गम्भीर समस्या पहिचान गर्न मद्दत गर्छ, जसले समयमै उपचार सुरु गर्न सहयोग पुर्याउँछ।
चिकित्सकीय अभ्यासमा हाल तीन प्रकारका ईसीजी परीक्षण प्रचलित छन्। आरामको अवस्थामा गरिने रेस्टिङ ईसीजी, हिँड्दा वा दौडिँदा गरिने अभ्यास ईसीजी (टीएमटी) र २४ देखि ४८ घण्टासम्म मुटुको गतिविधि निरन्तर रेकर्ड गर्ने हल्टर मोनिटरिङ। बिरामीको अवस्था र लक्षणअनुसार चिकित्सकले उपयुक्त परीक्षणको सिफारिस गर्छन्।
कार्डियाक विशेषज्ञहरूका अनुसार ईसीजी आपतकालीन उपचारको आधार हो। विशेषगरी आकस्मिक रूपमा छाती दुख्ने वा हार्ट अट्याकको शंका हुने अवस्थामा ईसीजी को सही र समयमै व्याख्या गर्न सकेमा बिरामीको ज्यान जोगाउन सकिने सम्भावना निकै उच्च हुन्छ।
यद्यपि ईसीजी अत्यन्त उपयोगी परीक्षण भए पनि यसले सबै मुटु रोग सधैं देखाउँछ भन्ने हुँदैन। ईसीजी सामान्य आए पनि यदि बिरामीमा लक्षणहरू कायम छन् भने ईको, टीएमटी वा कोरोनरी एन्जियोग्राफी जस्ता थप परीक्षण आवश्यक पर्न सक्छ।
नेपालका दुर्गम तथा पहाडी क्षेत्रमा अझै पनि स्वास्थ्य सेवाको पहुँच सीमित छ। सडक, यातायात र विशेषज्ञ चिकित्सकको अभावका कारण मुटु रोगका लक्षण देखिँदा तुरुन्तै ठूला अस्पताल पुग्न कठिन हुन्छ। यस्तो अवस्थामा ईसीजी परीक्षण झन् महत्वपूर्ण बन्छ।
विशेषज्ञहरूका अनुसार दुर्गम क्षेत्रमा ईसीजी सेवा उपलब्ध हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमै मुटुको अवस्था प्रारम्भिक रूपमा मूल्यांकन गर्न सकिन्छ। ईसीजी रिपोर्ट टेलिमेडिसिनमार्फत शहरका कार्डियोलोजिस्टलाई पठाएर तुरुन्तै सल्लाह लिन सकिने भएकाले समयमै उपचार निर्णय सम्भव हुन्छ। यसले अनावश्यक ढिलाइ कम गरी बिरामीलाई सही समयमा सही स्थानमा रिफर गर्न मद्दत गर्छ।
दुर्गम भेगमा उच्च रक्तचाप, धूम्रपान, कुपोषण, श्रमप्रधान जीवनशैली र स्वास्थ्यसम्बन्धी चेतनाको कमीका कारण मुटु रोगको जोखिम उच्च देखिएको छ। ईसीजी जस्तो सस्तो, छिटो र पोर्टेबल परीक्षणले हर्ट अट्याक, आर्थिमिया जस्ता जटिल समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुर्याउँछ।
एम्बुलेन्स सेवा ढिला हुने वा रिफरल गर्न समय लाग्ने रिमोट एरियामा ईसीजी ले ‘लाइफ-सेभिङ टुल’ को भूमिका खेल्न सक्छ। त्यसैले प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक अस्पताल र एम्बुलेन्समा ईसीजी मेसिन र तालिम प्राप्त स्वास्थ्यकर्मी अनिवार्य रूपमा उपलब्ध गराइनु आवश्यक देखिन्छ।
ईसीजी सानो र सामान्य परीक्षण भए पनि यसको प्रभाव अत्यन्त ठूलो छ। विशेषगरी नेपालका दुर्गम क्षेत्रमा ईसीजी सेवा विस्तार गर्न सकेमा समयमै रोग पहिचान, सही उपचार निर्णय र अनगिन्ती ज्यान जोगाउने सम्भावना उल्लेखनीय रूपमा बढ्न सक्छ।
(धराला कार्डियाक टेक्नोलोजिस्ट हुन्)