एआईद्वारा निर्मित प्रतिकात्मक तस्विर
काठमाडौं - सिन्धुपाल्चोककी ४७ वर्षिया कान्छी दुलाललाई जोर्नी दुखाईको समस्या छ। गर्मीमा जोर्नीको दुखाईले उनलाई खासै सताउँदैन। तर चिसोमा भने उनको दुखाई सही नसक्नु हुन्छ। चिसोसँगै उनको जोर्नीको दुखाई बढ्दै जान्छ।
हुन त उनले गत वर्ष वीर अस्पतालमा स्वास्थ्य परीक्षण पनि गराएकी थिइन्। त्यो बेला उनलाई बाथको समस्या भएको पत्ता लागेको थियो। बाथ रोगको निदान भएपछि उनले औषधि सेवन गरिन्। तीन महिनाको औषधि सेवनपछि उनको समस्या पनि कम हुँदै गयो। यो दुखाई गर्मीमा कम र चिसोमा बढ्ने गरेको उनले बताइन्।
काठमाडौं, थलीकी ५२ वर्षिया अम्बिका दाहालको समस्या पनि उस्तै छ। उनलाई पनि चिसो सुरु हुने बित्तिकै जोर्नीको दुखाई बढ्न थाल्छ। चिसोमा उनलाई बसेको ठाउँबाट उठ्न समेत गाह्रो हुन्छ। तर गर्मीमा भने उनलाई केही सजिलो हुन्छ।
उनीहरु मात्र होइनन् चिसोयाममा बाथ रोगबाट हैरान हुनेहरु धेरै छन्। गर्मीको तुलनामा चिसो मौसममा बाथ रोगको समस्या बढ्ने गरेको चिकित्सकहरु बताउँछन्।
चिसोमा शरीरमा दुखाइ महसुस गर्ने नसाहरु बढी सक्रिय हुने भएकोले बाथ रोगीहरुमा गर्मीको तुलनामा जोर्नी दुखाइको समस्या बढ्ने गरेको बाथ रोग विशेषज्ञ डा सुधीर कर्माचार्य बताउँछन्। गर्मीको तुलनामा जाडोमा अस्पताल आउने बाथ रोगीहरुको संख्या दोब्बरले बढ्ने गरेको उनले बताए।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्याङ्क अनुसार हाल नेपालको कुल जनसंख्याको ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथ रोगको समस्या रहेको पाइएको छ। नेसनल बाथ रोग सेन्टरले गरेको एक प्रारम्भिक सर्वेक्षण अनुसार नेपालको २७ प्रतिशत जनसंख्यामा बाथ तथा बाथजन्य रोगका लक्षणहरू देखिएका छन्।
बाथ कस्तो रोग हो ?
बाथ एक किसिमको दीर्घकालीन रोग हो। नेपाली समाजमा जोर्नी दुखाई नै बाथ रोग हो भन्ने अधिकांशको बुझाई छ। तर यो बुझाईमा कुनै सत्यता नरहेको डा कर्माचार्य बताउँछन्। बाथ रोगले जोर्नीलाई मात्र नभई शरीरका हरेक अंगमा प्रभाव पार्ने रोग भएको उनले बताए।
वंशाणुगत, विभिन्न प्रकारका संक्रमण, मोटोपना, हर्मोनल परिवर्तन, शरीरमा आवश्यक भिटामिनको कमी जस्ता कारणले बाथ रोग लाग्न सक्ने उनले बताए। यो जुनसुकै उमेरका मानिसलाई पनि लाग्न सक्ने रोग भएको उनले स्पष्ट पारे। बाथ रोगका धेरै बिरामीले खानेकुरा बार्ने गरेकोमा धेरैजसो बाथमा खानेकुरा बार्न आवश्यक नरहेको उनले बताए।
‘बाथ रोगका बिरामीहरुले गेडागुडी तथा माछामासु नखाएको पाईन्छ।’ डा कर्माचार्यले भने ‘बाथका केही प्रकारहरुमा भने खानेकुरा बार्नु अत्यावश्यक सबै खालका बाथ रोगीले होइन।’
युरिक एसिडको बाथ रोगीले भने गेडागुडी तथा माछा मासुको एकदमै कम मात्रै खान उनी सुझाव दिन्छन्। यस्ता बाथ रोगीले गुलियो खानेकुरा तथा मिर्गौला, कलेजो जस्ता भागको मासु खान नमिल्ने उनले जानकारी दिए।
बाथ दीर्घकालीन रोग भएकोले बिरामीलाई जीवनशैलीमा व्यापक परिवर्तन गर्न उनको सुझाव छ। यूरिक एसिडका बाथरोगीले खानेकुरा बार्ने, ढाडको बाथ रोग हुनेले नियमित रुपमा ढाड तथा कम्मरको व्यायाम गर्ने, घुँडाका बिरामीले मोटोपना घटाउन उनको सुझाव छ।
बाथको उपचारमा सरकारी सहुलियत आवश्यक
सरकारले मुटु, क्यान्सर, मिर्गौला जस्ता रोगका बिरामीलाई जस्तै बाथ रोगीहरुलाई पनि उपचार सहुलियत प्रदान गर्नुपर्ने डा कर्माचार्य बताउँछन्।
नेपालमा बाथ रोग विशेषज्ञहरुको संख्या एकदमै कम रहेकोले रोग पहिचानको लागि समस्या रहेको तथा यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको उनले बताए। यस रोगबारे जनचेतना बढाउनेतर्फ पनि सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको धारणा छ।
बाथ रोगको स्ट्याण्डर्ड ट्रिटमेन्ट प्रोटोकल बनाउँदै सरकार
बाथ रोगको पहिचान तथा उपचारमा लाग्ने खर्च र रोगीको यकिन तथ्यांक प्राप्त गर्न नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्। पछिल्लो समय विभिन्न संघ संस्था तथा मिडियाहरुमार्फत् बाथ रोगबारे विभिन्न जानकारी दिदै आएकोमा भने सरकारको पनि ध्यानाकर्षण भएको उनको दाबी छ।
सरकारले विपन्न बिरामीहरुलाई सहुलियत प्रदान गर्दै आएको विभिन्न ८ रोगहरुमा बाथ तथा जलन रोगहरुलाई थप गर्न सकिन्छ कि भन्ने गृहकार्य गरिरहेको उनले स्पष्ट पारे। यद्यपि, बाथ मुटु रोगलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ।
धेरै प्रकारका बाथ रोगहरुमध्ये कुन कुनलाई प्राथमिकतामा राख्ने भन्ने यकिन गर्न बाँकी रहेको डा बुढाथोकी बताउँछन्। यो रोगबारे खासै तथ्यांक नभएको अवस्थामा कुनै संस्थाले सरकारलाई उपलब्ध गराएमा बाथ रोगको पहिचान तथा उपचारमा सहज हुन सक्ने डा बुढाथोकीको दाबी छ।
सरकारले पहल गरेपनि नतिजा आइनसकेकोले बाथ रोगको क्षेत्रमा केही नगरेको हो कि भन्ने भ्रम रहेको उनले थप स्पष्ट पारे। बाथ रोगको स्ट्याण्डर्ड ट्रिटमेन्ट प्रोटोकल सरकारले बनाइराखेको उनले जानकारी दिए।