काठमाडौं - नेपाल औषधि व्यवसायी संघले नियम विपरित सञ्चालित अनलाइन तथा डिजिटल फार्मेसी माथि कारबाही गर्न माग गरेको छ।
संघले औषधि व्यवस्था विभागका महानिर्देशक डा नारायण ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै नियम विपरित सञ्चालित अनलाइन फार्मेसी माथि कारबाही गर्न माग गरेको हो।
औषधिको दुरुपयोग तथा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ऐन विपरित सञ्चालित अनलाइन तथा डिजिटल माध्यम मार्फत भइरहेको औषधिको बिक्रि वितरण र प्रचारप्रसार तत्काल नियन्त्रणमा लिन पनि संघको माग छ।
औषधि ऐन २०३५, औषधि बिक्रि वितरण संहिता २०८० र अन्य कुनै पनि औषधि सम्बन्धी प्रचलित ऐन तथा कानुनमा अनलाइन तथा डिजिटल माध्यम मार्फत औषधिको बिक्रि वितरण गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नरहेको संघले जनाएको छ।
यस किसिमको प्रचलनले चिकित्सकको प्रेसक्रिप्सनको अवहेलना, औषधिको दुरुपयोग, जनस्वास्थ्यमा जोखिम, फार्मेसीहरु अस्वस्थ प्रतिस्पर्धा लगायतको समस्या देखिने संघको ठम्याई छ।
सामाजिक सञ्जाल मार्फत औषधिको विज्ञापन, अस्वस्थकर अफर तथा प्रतिस्पर्धा, होम डेलिभरी जस्ता गतिविधि माथि नियमन गरी ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्था माथि कानुन बमोजिम कारबाही गर्न संघले विभागसँग माग गरेको छ।