काठमाडौं - स्वास्थ्य क्षेत्रका विभिन्न पाँच वटा संगठनले आफ्ना माग पुरा गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म माग पुरा नभएको भन्दै उनीहरुले परिषद्लाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
अल्टिमेटम दिनेमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन/नेपाल डेन्टल हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एशोसिएसन अफ नेपाल, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपाल रहेका छन्।
परिषद्मा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ। परिषद्को काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन माग गरेका हुन्।
तर हालसम्म पनि आफुहरुको माग कुनै सुनुवाई नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। उक्त अल्टिमेटममा पनि आफ्ना माग सुनुवाई नभए तालाबन्दी, घेराउ, काममा अवरोध, रिले अनशन सहितका कार्यक्रमहरु ल्याउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।
२०५३ सालमा स्थापना भएको परिषद्को ऐन २७ वर्षसम्म पनि संशोधन हुन नसकेको, २३ वर्षसम्म परिषदको दफा ४ को उपदफा च बमोजिम चुनाव गराउन नसकेको उनीहरुको भनाई छ।