काठमाडौं - हिजोआज इलेक्ट्रोलाइट ड्रिंक्सको बारेमा धेरै सुनिन्छ। अझ जिम र रनिङ क्षेत्रमा इलेक्ट्रोलाइट ड्रिंक्स अब सामान्य जस्तै भइसकेका छन्। यी पेय पदार्थहरुलाई शरीरको छिटो रिकभरीका लागि आवश्यक भन्दै प्रचार गरेको पाईन्छ।
पहिले यस्ता ड्रिंक्सहरु व्यावसायिक एथ्लिट्सले मात्र प्रयोग गर्थे, ताकि तातो मौसममा कडा प्रशिक्षण सहन सकून। तर अहिले यो ड्रिंक्स आम मानिसहरुमा पनि निकै लोकप्रिय बन्न पुगेको छ। जिम जानेहरुदेखि अफिसमा काम गर्ने र दैनिक यात्रा गर्नेहरुले पनि यी ड्रिंक्सहरुलाई दैनिक हाइड्रेशन बुस्टरको नाममा प्रचार गर्दै आएको पाईन्छ।
वास्तवमा, इलेक्ट्रोलाइट्स (जस्तै सोडियम, पोटासियम र म्याग्नेसियमजस्ता खनिज) ले शरीरमा नसाहरू, मांसपेशीहरू र शरीरको तरल सन्तुलन नियन्त्रित गर्न मद्दत गर्दछ। तर स्पोट्र्स ड्रिंक्स, स्याशे र पाउडर जस्ता उत्पादनमा दैनिक रुपमा केही सय रुपैयाँसम्म खर्च हुन सक्छ।
लिभरपुल जोन मुअर्स युनिभर्सिटीका स्पोट्र्स न्यूट्रिशन रिसर्चर प्रोफेसर ग्रेम क्लोजका अनुसार धेरैजसो मानिसहरुले यी कुरामा अनावश्यक रूपमा पैसा खर्च गरिरहेका छन्।
विशेष अवस्थामा प्रयोग गर्नुहोस्
प्रोफेसर क्लोजका अनुसार शरीरमा इलेक्ट्रोलाइट्सको कमी हुनु सामान्य कुरा होइन। किनकि शरीरले आफैँ यसको स्तर सन्तुलनमा राख्छ। यदि सामान्य र सन्तुलित आहार लिइन्छ भने धेरैजसो मानिसले इलेक्ट्रोलाइट्स स्वाभाविक रूपमा नै पाउँछन्, किनकि प्रायः सबै खानेकुरामा नुन हुन्छ र फलफूल तथा तरकारीमा पोटासियम र म्याग्नेसियम पाइन्छ।
तर, केही विशेष अवस्थाहरुमा जस्तै, लामो समयसम्म र तीव्र व्यायाम गर्दा धेरै पसिना आउँछ इलेक्ट्रोलाइट्सको स्तर घट्न सक्ने उनले बताए।
उनी भन्छन्, ‘यदि तपाई लामो समयसम्म व्यायाम गर्नुहुन्छ भने सोडियमको रुपमा इलेक्ट्रोलाइट्स पुनः लिँदा नराम्रो हुँदैन। विशेष गरी तपाई धेरै पसिना बगाउने अवस्थामा हुनुहुन्छ भने मात्र।’
यसका साथै, इलेक्ट्रोलाइट ड्रिंक्सले तिर्खा बढाउन सक्छ, जसले मानिसलाई बढी पानी पिउन प्रेरित गर्छ। लामो समयको व्यायाममा यो कुरा उपयोगी हुन सक्छ।
पानी पिउनुहोस् वा अण्डाको अम्लेट खानुहोस्
हल्काफुल्का व्यायाम, जस्तै जिम सेसन वा ५ किलोमिटर दौडका लागि इलेक्ट्रोलाइट्सको खासै आवश्यकता हुँदैन।
क्लोज भन्छन्, ‘बस पानी पिइरहनुहोस्, त्यही पर्याप्त हुन्छ। अनि तपाईंले मेहनत गरेर कमाएको पैसा अरु काममा लगाउनुहोस्।’
पक्कै पनि केही मानिसलाई इलेक्ट्रोलाइट ड्रिंक्सको स्वाद मनपर्छ। यसले व्यायामको बेला अझ बढी पानी पिउन प्रेरित गर्छ।
तर महँगो पाउडर किन्नुभन्दा उनी साथमा बोक्न मिल्ने सजिलो घरेलु मिश्रण लिन सुझाउँछन्।
उनका अनुसार दुई तिहाइ पानी, एक तिहाइ फलफूलको रस र स्वाद हल्का महसुस हुने गरी एक चुट्की नुन मिसाउन सकिन्छ। यसरी करिब ६ प्रतिशत कार्बोहाइड्रेट र इलेक्ट्रोलाइट्स भएको सन्तुलित घोल तयार हुने उनले बताए।
बिहानको समयमा इलेक्ट्रोलाइट्स उत्पादन सेवन गर्दा कुनै विशेष फाइदा हुन्छ भन्ने ठोस प्रमाण नभएको पनि उनले बताएका छन्।
वास्तवमा, एउटा अम्लेटमा हुने इलेक्ट्रोलाइट्सको मात्रा कुनै पनि स्याशेभन्दा धेरै हुने र त्यसैले बिहान खानु नै बढी प्रभावकारी हुन्छ।
तेज या बलियो बनाउँदैन
स्पोट्र्स ड्रिंक्सको वास्तविक वैज्ञानिक आधार भनेको कार्बोहाइड्रेट हो। शरीरले करिब ७० देखि ९० मिनेटसम्मको कडा व्यायामका लागि मात्रै कार्बोहाइड्रेट भण्डारण गर्न सक्छ। त्यसपछि अझै लामो समयसम्म प्रशिक्षण गर्ने एथलीट्सलाई ऊर्जा दिन यस्ता ड्रिंक्सहरू उपयोगी हुन सक्छन्।
तर प्रोफेसर क्लोज भन्छन्, ‘क्लोराइड, क्याल्सियम वा फस्फोरसजस्ता अन्य खनिजहरु मिसाउँदा अतिरिक्त फाइदा हुन्छ भन्ने कुनै ठोस प्रमाण छैन। शरीरले यी तत्वहरुलाई आफैं राम्रोसँग सन्तुलनमा राख्न सक्छ।’
व्यायामको बेला पर्याप्त पानी, कार्बोहाइड्रेट र सोडियम लिने कुरालाई नै विशेष ध्यान दिनुपर्ने उनी बताउँछन्। यसको मतलब इलेक्ट्रोलाइट्स चाहिँदैन भन्ने होइन। लामो, कडा वा अत्यधिक गर्मीको वातावरणमा हुने व्यायाममा यसको आवश्यकता पर्न सक्छ। तर दैनिक सामान्य एक्सरसाइजÞका लागि यी अनिवार्य हुँदैनन्।
यदि तपाईं गर्मीमा लामो समयसम्म ट्रेनिङ गर्दै हुनुहुन्छ वा आफूलाई अझ बढी पानी पिउन प्रेरित गर्न चाहनुहुन्छ भने, सोडियमको मात्रा बढाउन इलेक्ट्रोलाइट्स प्रोडक्ट प्रयोग गर्नु ठीक हुन सक्छ।
तर यससँगै प्रोफेसर क्लोज चेतावनी पनि दिन्छन्, ‘बिक्री गर्नेहरुले जे–जस्ता दाबी गरे पनि स्पोट्र्स ड्रिंक्सले अतिरिक्त परफर्मेन्स फाइदा दिन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन।’
यदि कुनै प्रोडक्टले तपाईको परफर्मेन्स १० प्रतिशत बढाउँछ भनेर दाबी गरिरहेका छन् भने त्यो सत्य नहुने उनले बताए।
- बीबीसी हिन्दीबाट साभार