काठमाडौं - देशभर भएका विपद्का विभिन्न घटनामा परी पछिल्लो ९ महिनामा ४१५ जनाको मृत्यु भएको छ।
विभिन्न ११ वटा विपद्का घटनामा परी ४१५ जनाको मृत्यु र १ हजार ५९५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विभिन्न विपद्का घटना सम्बन्धी मृत्यु, घाइते, प्रभावित परिवारको संख्या लगायतका विभिन्न तथ्यांक संकलन गर्ने गर्दछ। प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण भएको छ।
सर्पदंशका कारण ९६, आगलागीमा परी ६९ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार बाढीका कारण कुल ३७, पहिरोमा परी ७०, भारी वर्षाका ७, चट्याङमा ४४, वन डढेलोमा १, हावाहुरीमा ८, जनावर आक्रमणमा ४२, लेक लाग्दा ३५ र हिउँ पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।