काठमाडौं - नेपाल चिकित्सक संघले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ।
संघले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको हो।
स्वास्थ्य मन्त्रालयले नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७७ जारी गरेको छ। जसअनुसार करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारको सम्बन्धित सेवा तथा समूहको सुरु तलब स्केल बराबरको तलब तथा स्थानीय भत्ता लगायत अन्य भत्ता पाउने व्यवस्था गरिएको छ। तर उक्त निर्देशिकामा महँगी भत्ताको विषयमा भने स्पष्ट रुपमा उल्लेख नभएको संघले जनाएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपाल सरकारको मातहतमा काम गर्ने सबै चिकित्सकहरुले महँगी तथा त्यहाँ उपलब्ध गराइने अन्य भत्ता समान रुपमा पाउनुपर्ने नेपाल चिकित्सक संघको स्पष्ट धारणा छ।’
चिकित्सकको मनोबल उच्च राख्न करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयले यथाशिघ्र निर्देशन दिन पनि संघको माग छ।
साथै महँगी एवं अन्य भत्ता उपलब्ध गराउने सम्बन्धमा आवश्यक नीति स्पष्ट गर्दै सबै सरकारी स्वास्थ्य संस्थामा एकरुपता हुने गरी कार्यान्वयन गर्न निर्देशन जारी गर्न पनि संघको आग्रह छ।